हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरकारको निर्णय फरक विषय रहेको बताउनुभएको छ । उहाँले सरकारले शुक्रबार गरेको प्रादेशिक अस्पताल निर्माण अध्ययनको विषय प्रतिष्ठान र हेटौँडा अस्पतालसँग जोड्न नमिल्ने बताउनुभयो ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयमा जवाफ दिनुहुँदै उहाँले मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले मकवानपुर जनघनत्व बढी भएको र दुर्गम क्षेत्र बढी भएको जिल्ला भएकाले उपयुक्त स्थानमा प्रादेशिक अस्पताल निर्माण गर्ने गरी सरकारले अध्ययन गर्ने निर्णय गरेको बताउनुभयो ।
‘मकवानपुरका स्थानीय तहहरुले पूर्वी भागमा अस्पताल बनाउन माग गरिरहेका छन् । सोही अनुसार मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताल स्थापनाको अध्ययन गर्ने निर्णय गरेको हो । हेटौँडा अस्पताल, प्रतिष्ठान र प्रादेशिक अस्पतालको विषय फरक हो । हामीले मन्त्रिपरिषद् बैठकमा न हेटौंडा अस्पताल, न प्रतिष्ठानको विषयमा छलफल गरेको छौं ।’ उहाँले भन्नुभयो । हेटौँडा अस्पताल र प्रतिष्ठानको विषय राजनीतिक विषय बनाउन नहुने उहाँको भनाई छ । सरकार र प्रतिपक्षी दल बीच छलफल गरेर उक्त विषयमा अघि बढ्न सरकारको योजना रहेको उहाँको भनाई छ ।
प्रतिष्ठानको ऐनले हेटौँडा अस्पताल प्रतिष्ठान मातहत रहने व्यवस्था गरेको उहाँले स्पष्ट पार्नुभयो । संघीय सरकारले राज्य पूनःसंरचना हुँदा प्रदेश सरकारलाई ८ वटा अस्पताल हस्तान्तरण गरेको जानकारी गराउनुहुँदै ती अस्पतालको स्वामित्वसहित संघीय सरकारले हस्तान्तरण भएको उहाँले स्पष्ट पार्नुभयो ।
‘विगतमा प्रतिष्ठानको ऐन बनाउँदा हामीसँगै छौं । ऐनले प्रष्ट भनेको छ । हेटौंडा अस्पताल प्रतिष्ठानको हुनेछ भन्ने भनिएको छ । संघीय सरकारले राज्य पूनःसंरचना हुँदा ८ वटा अस्पताल हस्तान्तरण भएको हो । स्वामित्वसहित ८ अस्पताल हस्तान्तरण भएको हो । पछि ५ अस्पताल थपेर १३ वटा बनाइएको हो । हेटौँडा अस्पतालको स्वामित्व प्रादेशिक अस्पतालको रुपमा रहेको छ । थप निर्णय केही भएको छैन ।’ मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।
प्रतिपक्षको सहमति नभएसम्म सरकारले उक्त विषयमा कुनै निर्णय नगर्ने उहाँले बताउनुभयो । विवाद नगरी सरकार नागरिकको हितमा काम योजनामा रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा अस्पतालको संख्या थपेर सरकार लगानी गर्ने तयारी रहेको समेत जानकारी दिनुभयो । नर्सिङ कलेज चलाउने गरी सीटीइभीटीले काम गरिरहेको र स्वास्थ्य क्षेत्रमा अभाव रहेको नर्स र डाक्टरको संख्या पूरा गर्ने सरकारको तयारी रहेको उहाँले दावी गर्नुभयो । विद्यमान ऐन र कानुनको अधिनमा रहेर काम गरिरहेको उहाँको भनाई छ । दोहोरो नेतृत्व रहँदा प्रतिष्ठान र अस्पतालबीच समस्या आएको र तत्काललाई यथास्थितिमा अघि बढ्न सरकारले काम गर्न निर्देशन दिएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभएको छ ।