नगरपालिकाकी प्रमुख मीनाकुमारी लामालाई ज्ञापनपत्र बुझाउँदै ।

हेटौंडाः नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुरले हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामालाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । मंगलबार परिषद्ले प्रमुख लामा र शिक्षा विकास महाशाखाका हरिचन्द्र सापकोटालाई थप पारिश्रमिक र तालिमसम्बन्धी ज्ञापनपत्र पेश गरेको हो ।

परिषद्का सचिव सज्जन रिमालका अनुसार पालिकाभित्र रहेका विद्यालय कर्मचारीहरुले पाउनुपर्ने थप पारिश्रमिक र विद्यालय लेखा प्रणाली (एसएएस) सम्बन्धी तालिमका लागि अनुरोध गर्दै ज्ञापनपत्र पेश गरिएको हो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख लामाले सकारात्मक आश्वासन दिएको उहाँको भनाइ छ । नेपाल सरकारले विद्यालयका कर्मचारीका लागि बजेट नछुट्याएका कारण परिषद्ले विद्यालय कर्मचारी पारिश्रमिक व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रमको निष्कर्षअनुसार स्थानीय तहसँग समन्वय गर्न ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

नेपाल सरकारले तोकेको समान तहमा कार्यरत कर्मचारीले पाउँदै आएको तलब र सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि न्यूनतम तलब आएका कारण परिषद्ले छलफल गरेको थियो । परिषद्का जिल्ला अध्यक्ष राजन अधिकारी, सचिव रिमाल, केन्द्रीय सदस्य बालकृष्ण दहाल, प्रदेशसचिव कृष्ण मानन्धर, नगरका पुरुषोत्तम ढकाल, जिल्ला उपाध्यक्ष प्रदीप दाहाललगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।