हेटौंडाः बागमती प्रदेशभित्रका १२ जिल्लामा अहिले खेलकुद विकास समिति अध्यक्षविहीन छ । नुवाकोट जिल्लाबाहेक मकवानपुरसहित १२ जिल्लामा अहिले खेलकुद विकास समितिको अध्यक्ष पद रिक्त रहेको हो ।
मकवानपुरसहित अन्य १२ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरु पनि चैतदेखि कार्यकाल सकिएर बिदाई भइसकेका छन् । उनीहरु सबैजना दुईवर्षे कार्यकाल पूरा गरेर बिदाई भएका हुन् । तर खेलकुद विकास परिषद्ले हालसम्म जिल्ला समितिहरुमा अध्यक्ष नियुक्त गर्न सकेको छैन । राजनीतिकरुपमा सत्ता परिवर्तनका कारण खेलकुद विकास समितिहरुमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको हो ।
खेलकुद विकास समिति अध्यक्षविहीन हुँदा जिल्लाहरुमा खेलकुदका गतिविधि र क्रियाकलापहरु ठप्पजस्तै भएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्की गत चैत ४ गते दुईवर्षे कार्यकाल पूरा गरी बिदाई हुनुभयो । विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणको सुरुवातजस्ता काम सुरु गर्नुभएका खड्कीको बिदाईपछि कुनै खेलकुद प्रतियोगिता आयोजना हुन सकेका छैनन् ।
प्रदेश खेलकुद विकास परिषद्ले यस वर्षदेखि खेलकुद विकास समितिको कार्यकाल ४ वर्षे बनाएको छ । कार्यकाल लम्याएपनि प्रदेश सरकारले खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिका बारेमा खासै चासो दिएको देखिँदैन ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले १२ वटै जिल्लामा खेलकुद विकास समितिका अध्यक्ष नियुक्तिको तयारी भइरहेको बताउनुभयो । उहाँले असार मसान्तसम्म नियुक्ति गरिसक्ने बताउनुभयो । गठबन्धन परिवर्तन र सामाजिक विकास मन्त्रालयअन्तर्गत् रहेको युवा तथा खेलकुद विकास विभाग छुट्टिएर छुट्टै मन्त्रालय बन्दा नियुक्ति प्रक्रिया केही ढिलो भएको उहाँको भनाइ छ ।
उहाँले युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी प्रदेश खेलकुद परिषद्ले नियुक्ति गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । खेलकुद विकास समितिका अध्यक्ष नै नहुँदा खेलकुदका गतिविधि नभएको स्वीकार गर्दै उहाँले चाँडै नियुक्ति गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अहिले समितिको कार्यकाल २ वर्षबाट थप गरेर ४ वर्षमा पु¥याएको बताउनुभयो । प्रायः नियुक्तिहरु ४ वर्षको हुने गरेको भन्दै उहाँले खेलकुद विकास समितिको कार्यकाल पनि ४ वर्षे बनाइएको बताउनुभयो ।
बागमती प्रदेश सरकारकी युवा तथा खेलकुदमन्त्री रमा आले मगरले यस विषयमा सल्लाह लिन बाँकी रहेको बताउनुभयो । सरकारको बजेट निर्माणको प्रक्रियाका कारण तत्काल सो विषयमा ध्यान दिन नसकेको उहँको भनाइ छ । ‘म आउनुभन्दा अगाडि नै खेलकुद विकास समितिका अध्यक्षहरु खाली रहेछ । अहिले नीति तथा कार्यक्रम बनाउन लागिरहेको छु । त्यसपछि यो विषयमा गम्भीर भएर खेलकुद विकास परिषद्सँग सल्लाह लिन्छु ।’ उहाँले भन्नुभयो ।
उहाँले आगामी एक हप्ताभित्र मन्त्रालयको नीति, कार्यक्रम, योजना तथा बजेट पेश गर्न तयारी भइरहेको र त्यसपछि मात्र खेलकुद विकास समितिका अध्यक्ष नियुक्ति गर्ने विषय अगाडि बढाउने बताउनुभयो । ‘प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षमा प्रदेशको गौरवका निर्माणाधीन खेलकुदका भौतिक संरचनालाई पूरा गर्ने गरी बजेट ल्याउने तयारी रहेको छ । सोपश्चात् खेलकुद विकास समितिको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्छ ।’ मन्त्री मगरले भन्नुभयो । सो विषयमा प्रदेश खेलकुद विकास परिषद्सँग सल्लाह लिएर अघि बढ्ने उहाँको भनाइ छ । उहाँले खेलकुद विकास समितिका अध्यक्ष नियुक्तिका कुरा राजनीतिसँग पनि जोडिने भएकाले गठबन्धन दलभित्र पनि छलफल गरेर प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।