हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको क्याप्टेनमा कक्षा ९ का रोजन मैनाली निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा ३९६ मतसहित रोजन स्कूल क्याप्टेनमा निर्वाचित हुनुभएको हो । स्कूलको भाइस क्याप्टेनमा ३१० मतसहित कक्षा ९ कै दिपिका लम्साल निर्वाचित हुनुभएको छ । क्याप्टेन र भाइस क्याप्टेनमा ४/४ जनाको उम्मेदवारी रहेको थियो ।
यस्तै रातो सदनको क्याप्टेनमा कक्षा ९ का प्रतिक दाहाल (८५ मत) र भाइस क्याप्टेनमा कक्षा ८ की अनुज्ञा विडारी (६३ मत) विजयी हुँदा पहेँलो सदनको क्याप्टेनमा ९ कक्षाका अमिष दाहाल (९४ मत) र भाइस क्याप्टेनमा ८ कक्षाकी प्रसिद्धि केसी (७३ मत) निर्वाचित हुनुभएको छ । हरियो सदनको क्याप्टेनमा र भाइस क्याप्टेन दुबै ८ कक्षाका अस्मिता थिङ (८७ मत) र प्रियांशु सिंह (७७ मत) चयन हुँदा निलो सदनको क्याप्टेन र भाइस क्याप्टेनमा ९ कक्षाका सहर्ष गौतम (७४ मत) र दिपिक्षा न्यौपाने (७९ मत) निर्वाचित हुनुभएको छ ।
यस्तै वातावरण क्लबको क्याप्टेनमा ९ कक्षाका आर्यन खड्का (२६८) र भाइस क्याप्टेनमा ८ कक्षाकी सौरभी हुमागाई (२१०), साहित्य क्लबको क्याप्टेनमा ९ कक्षाका गन्तव्य राज पौडेल (३९६ मत) र भाइस क्याप्टेनमा ८ कक्षाकी सदीक्षा हुमागाई (३७३ मत) निर्वाचित हुनुभएको छ । फाइन आर्ट क्लबको क्याप्टेनमा ७ कक्षाकी श्रेयशी गौतम (३७३ मत), भाइस क्याप्टेनमा ७ कक्षाकै अञ्जनप्रसाद यादव (२५२ मत), खेलकुद क्लबमा ७ कक्षाका साइमन उप्रेती (२५१ मत) र भाइस क्याप्टेनमा ९ कक्षाका सुवास्टिन महत (३०१ मत) निर्वाचित हुनुभएको छ ।
शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भई दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका ७ सय ५८ जना विद्यार्थीले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उमेश अर्यालले जानकारी दिनुभएको छ । निर्वाचनमा कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । विद्यालयका विविध क्रियाकलापमा विद्यार्थीको सहभागिता सुनिश्चित गर्न तथा विद्यार्थीमा नेतृत्व विकास, प्रजातान्त्रिक अभ्यासको विषयमा अवगत गराउने उद्देश्यले बालजागृतिले २०७४ सालदेखि निर्वाचनको अभ्यास गराउँदै आएको छ । विद्यार्थी निर्वाचन कार्यक्रममा शिक्षकहरुले सहजीकरण गरेका थिए भने विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी र अभिभावकले निर्वाचन कार्यक्रमको पर्यवेक्षण तथा अवलोकन गरेका छन् ।