हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले खुला गरेको शिक्षक पदका लागि ४ सय ४१ जनाले आवेदन दिएका छन् । पालिकाले गत बैशाख ११ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको ८० शिक्षक पदका लागि ४ सय ४१ जनाले आवेदन दिएको गाउँपालिकाका स्रोत शिक्षक नारायणप्रसाद चापागाईले जानकारी दिनुभयो ।
आवेदन दिनेमा मावितर्फ ७१ जना, प्रावितर्फ २ सय ३४ जना र निमावितर्फ १ सय ३६ जना रहेका छन् । आवेदन दिएकाहरुको शुक्रबारबाट छनोट प्रक्रिया सुरु हुँदैछ । तीन चरणमा छनोट परीक्षा बकैया–३ स्थित बुद्ध माविमा सञ्चालन हुनेछ । परीक्षाको नतिजा शनिबारभित्रै प्रकाशन गरी दोस्रो चरणको परीक्षाको लागि जानकारी गराइने उहाँले बताउनुभयो । गाउँपालिकाअन्तर्गतको विद्यालयमा अहिले गणित र विज्ञानका २५ जना शिक्षकको आवश्यकता रहेको छ ।
गाउँपालिकाले ५० जना प्रावि, १० जना मावि र १० जना निमावि शिक्षकका लागि आवेदन खुलाएको थियो । गाउँपालिकाले कुनै विषयको शिक्षक विदामा बस्नुपर्दा र उपस्थित हुन नसकेको समयमा पनि विद्यार्थीको पठनपाठन र परीक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त शिक्षकहरुको माग गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आवेदकको परीक्षा लिएर उत्तीर्णहरुमध्येबाट शिक्षक प्रतीक्षा सूची तयार गर्ने र विद्यालयमा कार्यरत शिक्षक लामो समय बिदामा बस्दा बिदा अवधिभर उक्त प्रतीक्षा सूचीमा सूचीकृत शिक्षकलाई गाउँपालिकाले खटाउने उहाँले बताउनुभयो । गाउँपालिकाअन्तर्गत प्रावि ५३ वटा, मावि १२ वटा र ११ वटा निमावि गरी ७६ वटा विद्यालयहरु रहेका छन् ।