गुगल तस्विर

हेटौंडाः नेपालभर डेंगुको संक्रमितको संख्या घट्दै गएको छ । मकवानपुरमा साउन महिनादेखि बढेको डेंगु कार्तिक महिनादेखि घट्दैै गएको हो ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार २०८० को साउन महिनादेखि हालसम्म ८ सय ८८ जनालाई डेंगु भएको छ । जसमा ४ सय ३४ महिला र ४ सय ५४ जना पुरुष रहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार बिहीबार भीमफेदी गाउँपालिकाका एकजना बासिन्दालाई डेंगु देखिएको छ । मकवानपुरमा धेरै समयपछि डेंगु संक्रमण भेटिएको हो । मकवानपुरमा धेरै हेटौंडा उपमहानगरपालिकाका ५ सय ६९ जना बासिन्दा डेंगु संक्रमित भएका छन् । यसमा एक जनाको मृत्युसमेत भएको छ । गत साउनदेखि हालसम्म थाहा नगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २१ जना, बागमती गाउँपालिकाका २४ जना, कैलाश गाउँपालिकाका एकजना, मनहरी गाउँपालिकाका ७३ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३८ जना, बकैया गाउँपालिकाका २६ जना र राक्सिराङ गाउँपालिकाका ३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

हेटौंडा अस्पतालबाट ८२ जना, ठेगाना नखुलेका ३० जना र अन्य जिल्लाका १४ जना रहेका छन् । बागमती प्रदेशमा बिहीबार ५ जनामा डेंगु पुष्टि भएको छ । जेठ महिनामा चितवनका १६ जना र मकवानपुरका एक जना बासिन्दामा डेंगु देखिएको छ । साउन महिनादेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४ सय जनामा डेंगु देखिएको हो । जसमा ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको धादिङ जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ७ जनामा डेंगु देखिएको छ भने रसुवा जिल्लामा सबैभन्दा कम २ जनामा डेंगु देखिएको छ । गत वर्षजस्तो यसवर्ष डेंगु पुष्टि नदेखिएता पनि यसलाई न्यूनीकरण गर्न जरुरी छ । डेंगुबारे धेरै जनामा सचेतना पुगेको छ ।

डेंगुको कुनै खास उपचार नभएका कारण आपैm डेंगुबाट बच्ने प्रयत्न गर्नुपर्छ । घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने गर्दा यसको संक्रमणबाट बच्न सकिन्छ ।