हेटौँडाः मकवानपुरको चित्लाङ–चन्द्रागिरि सडक स्तरोन्नतीका लागि बन्द गरिएको छ । आगामी असार २० गतेसम्म सो सडक खण्ड बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको हो ।
प्रहरीका अनुसार गणेशमान मार्गको थानकोट–चित्लाङ सडक खण्ड अन्र्तगत आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक मर्मत सम्भारका क्रममा आवागमन गर्न सुरक्षाको जोखिम रहेको भन्दै सडक बन्द गर्न लागेको हो । सो सडक खण्ड अन्तर्गत सेतो पहरोमा सडक निर्माण कम्पनीले ग्रेड उच्च रहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द गरिएको हो ।
सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले हरेक दिन ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्ण रुपमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनी बिएसपी÷जयश्री महालक्ष्मी जेभीसँग ठेक्का सम्झौता भई काम भइरहेको छ । २०८१ वैशाख ३१ गते कम्पनीसँग भएको सम्झौतामा २०८२ वैशाख ३० गतेसम्ममा निर्माण एवं मर्मतसम्भारको काम मूल्य अभिवृद्धि करसहित ३ करोड ९३ लाख ५२ हजार ८ सय ४९ रुपैयाँको लागतमा सम्पन्न गर्नुपर्ने छ ।
थानकोट–चन्द्रागिरि सडक खण्डको निर्माण एवम् मर्मतसम्भार अन्तर्गत पानीघाटबाट केही माथिबाट करिब ८ सय मिटर कालोपत्रे गर्ने, मोड सुधार, सडक चौडा गर्ने, उकालो कम गर्नेलगायतका कार्य गरिने छ । तीन÷चार स्थानमा मोड काट्नुपर्ने र सडक चौडा कम भएको खण्डमा ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्ने क्रममा सुरक्षाका उपाय अपनाएर काम गर्नुपर्ने अवस्था रहेको छ । सो कार्यका लागि बागमती प्रदेश सरकारले आर्थिक स्रोत उपलब्ध गराएको छ ।
गत पुसमा दुर्घटनापछि सेतो पहरा क्षेत्रमा दुर्घटना जोखिमका सडकको ग्रेडिङ कम गर्नेलगायतका सडक सुधारका उपाय अपनाइदै आएको छ । प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय, ललितपुरको १५ लाख रुपैयाँ बजेटबाट भिरालो कम गर्नेलगायतका सडक सुधारको काम भएको हो । सो सडक खण्ड कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा ७ करोड ९९ लाख रुपैयाँको स्रोत सुनिश्चितता गरिएको छ भने चालु आर्थिक वर्षका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सो सडक बाराको निजगढ, वीरगञ्ज, हेटौंडा र थाहा नगरपालिकाबाट काठमाडौं उपत्यका छिर्ने छोटो दुरीको सडक हो ।