हेटौँडाः सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा हेटौँडाका नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ । संघीय सरकारको बिहिबार बसेको बैठकले भण्डारीलाई हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षको ३ बर्षे कार्यकाल रहनेछ ।
संघीय सरकारको उद्योग, वायिाज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । मन्त्रालयले दरखास्त आव्हान गरेपछि ४ जनाले दरखास्त बुझाएका थिए । दरखास्त बुझाएका मध्ये हेटौँडाका भण्डारीसहित सञ्जीब कुमार देव र श्रीकृष्ण भद्र अर्याललाई अन्तरवार्तामा बोलाइएको थियो । जेठ १३ गते मन्त्रालयमा अन्तरवार्ता भएको थियो ।
स्नातक तह उत्तीर्ण गरी ५ बर्ष अधिकृत सरहको कार्यअनुभव भएको ३५ देखि ६५ बर्ष उमेर समूहका नेपाली नागरिकबाट मन्त्रालयले दरखास्त आव्हान गरेको थियो । हेटौँडा–९ का भण्डारी मानविकी संकायमा स्नात्तकोत्तर तह उत्तीर्ण गरी निर्माण व्यवसायको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत रहनुभएका भण्डारी विभिन्न सामाजिक संघ, संस्थामा पनि क्रियाशील हुनुहुन्छ । यसअघिका अध्यक्ष हेटौँडा–१९ का गणेश प्रसाद भेटुवालको मृत्यु भएपछि अध्यक्ष पद रिक्त थियो ।
संघीय सरकारले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षको जिम्मेवारी दिने निर्णय सार्वजनिक भएपछि भण्डारीले आफ्नै जिल्लाभित्रको उद्योगको नेतृत्वको अवसर महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ । निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्दै सरकारी स्वामित्वको गुणस्तरीय सिमेन्ट उद्योगलाई सुधार गर्नु प्रमुख चुनौति भएको भण्डारीले बताउनुभएको छ । सरकारी नीति तथा योजना, कर्मचारी प्रशासनको साथ, सहयोग र निजी क्षेत्रका व्यवसायी समेतको विश्वास जितेर उद्योगलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने भण्डारीको भनाइ छ ।