हेटौँडाः चितवनमा एकैदिन २ जनाको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, चौबिसकोठी चोकमा अचेत अवस्थामा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारी छतौलिया घर भई हाल भरतपुर महानगरपालिका–२७ पर्साढापमा डेरा गरी बस्ने ६६ वर्षीया रिहाना खातुन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा खातुन एक्कासी बेहोस भई ढली अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटी गएको थियो । खातुनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो १२ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ स्थित नारायणी नदीमा एक जना पुरुषको शव फेला परेको छ । मंगलबार नारायणी सामुदायिक वन पछाडी नारायणी नदी किनारमा हाल नाम थर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।