हेटौँडाः बागमती प्रदेश सरकारले गठन गर्ने सीटीइभीटीका लागि कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले आवेदन माग गरेको छ । गत जेठ १७ गते सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि ७ दिनभित्र आवेदन पेश गर्न भनिएको थियो ।
मन्त्रालयले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को ऐन २०७५ र नियमावली २०८० बमोजिम स्थापना हुने प्रदेश प्रमुख कार्यकारी निर्देशकको नियुक्ति गर्नका लागि सूचना प्रकाशित भएको ७ दिन जेठ २३ गते भित्र कार्यालय समयमा कागजातसहित निवेदन पेश गर्न सूचना गरेको थियो ।
आवेदन आव्हान गरिएको ६ दिनसम्म एकजनाले पनि आवेदन दिएका छैनन् । मन्त्रालयका महाशाखा प्रमुख खुविराम अधिकारीका अनुसार हालसम्म कुनै पनि व्यक्तिले आवेदन पेश नगरेको र बुधबारसम्मको समयसीमा रहेकाले प्राप्त हुन सक्नेछ । आवेदन प्राप्त नभएको खण्डमा मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिको निर्णय अनुसार अघि बढाइने उहाँले बताउनुभएको छ ।
कार्यकारी निर्देशकका लागि ३५ वर्षदेखि ५५ वर्षसम्मका प्रदेशका स्थायी बसोबास गर्ने व्यक्तिले निवदेन, व्यक्तिगक विवरण, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को नियमावली २०८० को अनुसूची १ को ३ बमोजिमको बढीमा ३ हजार शब्दको कार्ययोजना पेश गर्न भनिएको छ । सुचना अनुसार नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, प्रदेश भित्र स्थायी बसोबास भएको प्रमाणित कागजात, मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, अर्थशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि विज्ञान र सूचना प्रविधि मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको र कुनै कानुनले अयोग्य नठहरिएको पत्र पेश गर्न भनिएको छ भने कार्ययोजना संक्षिप्त रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।