हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको जन्मदिनमा विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । सोमबार कक्षा ७ मा अध्ययनरत नमुना श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक उपहार हस्तान्तरण गर्नुभएको हो ।
श्रेष्ठले २ हजार मूल्य बराबरका सामान्य ज्ञान, कथाकविता, गाउँखाने कथा, वैज्ञानिकका जीवनीलगायतका विभिन्न पुस्तकहरू कक्षामैँ रहनेगरी हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ र सोही कक्षाको पुस्तक व्यवस्थापक विद्यार्थीलाई पुस्तक हस्तान्तरण गरिएको कक्षा शिक्षक श्रीजु ढकालले जानकारी दिनुभयो ।
केही दिनअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले १० हजार मूल्यका पुस्तक कक्षामा रहनेगरी उपलब्ध गराउनु भएको थियो । शिक्षकहरूले समेत गतसालदेखि नै यस अभियानमा जोडिएको अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताउनुभयो ।
जनप्रिय माविले गत सालदेखि जन्मदिन, वैवाहिक वार्षिकोत्सवलगायत खुसियालीको अवसरमा पुस्तक हस्तान्तरण गरी कक्षामैँ रहनेगरी व्यवस्थापन गर्ने कार्य सुरू गरेको छ ।
विद्यालयले दाताहरूबाट प्राप्त पुस्तक कक्षाहरूमा रहेका बुक ¥याकमा क्रमशः पुस्तक उपलब्ध गराउँदै जाने र विद्यार्थीहरूलाई नै तिनको अभिलेख राख्न लगाइएको तथा ती पुस्तकहरू अभिलेख पश्चात् घर लैजान पाइनेगरी समेत व्यवस्थापन गरिएको प्रधानाध्यापकले जानकारी दिनु भएको छ । साथै उहाँले ८ वटा कक्षाहरूमा पुस्तक वितरण भई खाली घण्टीमा समेत नियमित अध्ययन भइरहेको र पुस्तकका दाताहरूसँग पुस्तक प्रदान गरिदिनुहुनका लागि आह्वान गर्नु भएको छ ।
विद्यालयले यो अभियानमा जोडिएर आफूले पढेका वा नयाँ कुनै पनि पुस्तक हस्तान्तरण गरी पठन सँस्कृतिको विकासमा जोडिनुहुनका लागि अनुरोध गरेको छ ।