सांकेतिक तस्वीर ।

हेटौैंडाः मकवानपुरको मनहरी गाउँपालिकामा पानीसँगै आएको हावाहुरीले रुख भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–२ स्थित ट्याङकी दमारका २२ वर्षीय राम बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार बिहान ११ बजेर ३० मिनेटको समयमा घरबाट ८ सय मिटर पुर्वमा रहेको बारीमा घाँस काटिरहेको अवस्थामा अचानक आएको हावाहुरी र पानीले साजको रुख भाँचेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । गोलेको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटेको थियो । घटनाबारे थप अनुसन्धान तथा मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटेर कानुनी प्रक्रिया पश्चात शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।