हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको वार्ईवार्ई यु–१९ क्रिकेट टिम छनोट प्रतियोगितामा आकाशे निलो समूह विजयी भएको छ । सोमबार हेटौंडा–४ स्थित हुप्रचौरमा छनोट प्रतियोगिताको अन्तिम खेल सम्पन्न हुँदा रातो समूहलाई ८ विकेटले हराउँदै आकाशे निलो समूह विजयी भएको हो ।
आकाशे निलो समूहबाट गोकुल अधिकारी अविजीत रहँदै सर्वाधिक ४३ रन बनाएका छन् । राजा अहमदले १४ रन जोड्न सफल भएका हुन् । यता बलिङतर्फ रातो समूहका अनुराग सिंहले सर्र्वाधिक २ विकेट लिएका हुन् ।
यसअघि टस जितेर पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको रातो समूहले १४ ओभरमा सबै विकेट गुमाएर आकाशे निलो समूहलार्ई ५८ रनको लक्ष्य दिएको थियो । रातो समूहबाट अजल मान्नधरले १० रन र रोहित ठाकुरले ९ रन जोडेका थिए । बलिङतर्फ आकाशे निलो समूहबाट सचिनकुमार यादवले सर्वाधिक २ विकेट लिएका हुन् । प्राञ्जल उपाध्याय, रञ्जन यादव र गोकुल अधिकारीले समान एक–एक विकेट लिएका हुन् ।
प्रतियोगितामा ४ वटा टिमहरुको सहभागिता रहेको थियो । संघले जिल्लाको ४६ जना खेलाडीहरुलार्ई ४ समूहमा विभाजन गरेर प्रतियोगितामा सहभागी गराएको प्रतियोगिताका संयोजक सञ्जोक पोखरेलले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी भएका मध्य उत्कृष्ट २४ जना खेलाडीहरुको नाम सार्वजानिक गरेर बन्द प्रशिक्षणमा राख्ने संयोजक पोखरेलले बताउनुभयो । बन्द प्रशिक्षणमा सहभागीमध्ये १८ जना खेलाडीहरु छनोट गरेर प्रदेशस्तरीय प्रतियोगतामा सहभागी गराउने उहाँले बताउनुभयो ।
जिल्ला क्रिकेट संघको नेतृत्वमा सञ्चालन हुने बन्द प्रशिक्षणमा सहभागी भएका १९ वर्ष उमेर समूहका किशोर खेलाडीहरुलाई जिल्लाका प्रशिक्षक रामनरेश गिरीले प्रशिक्षण दिनुहुने उहाँले बताउनुभयो । बन्द प्रशिक्षण किशोर खेलाडीहरुको क्षमता, फिट्नेस, खेलप्रतिको रुचि, कौशलतालाई विशेषरुपमा प्राथमिकता दिइने जनाइएको छ । खेलाडीहरुको क्षमताको परीक्षण गर्नका लागि मकवानपुरभित्र रहेका सिनियर र बाहिरी जिल्लाका सिनियर खेलाडीहरुबीच पनि प्रतिस्पर्धात्मक प्रतियोगिता गराइने बताइएको छ । बन्द प्रशिक्षणबाट छनोट भएका खेलाडीहरु प्रदेशको छनोट प्रतियोगितामा सहभागी जनाउन पाउनेछन्् ।
जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश हुँदै वाईवाई क्रिकेटको राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले १९ वर्ष उमेर समूहका किशोर खेलाडी उत्पादन गर्नका लागि वार्षिक क्यालेन्डरअनुसार वाईवाई क्रिकेट प्रतियोगिताको आयोजना गर्ने गरेको छ । प्रतियोगितामा सहभागी भएका ४६ जना किशोर खेलाडीहरुलाई सहभागीको प्रमाणपत्र पनि प्रदान गरिएको छ ।