आर्थिक विकासको मेरुदण्ड मानिने उद्योग, व्यवसाय क्षेत्र नेपालमा सन्तोषजनक छैन । उद्योग, कलकारखाना स्थापनाको सम्भावना भए पनि पर्याप्त उद्योग स्थापना हुन सकेको छैन । भएका उद्योगहरु पनि विभिन्न कारण धराशायी बनिरहेका छन् । विगतमा विभिन्न देशको सहयोगमा सञ्चालनमा आएका महत्वपूर्ण र ठूला उद्योगहरु अधिकांश बन्द भइसकेका छन् । यसको पछाडि मुख्य समस्याको रुपमा सरकारको औद्योगिक नीति प्रभावकारी नहुनुलाई मान्न सकिन्छ । चलिरहेका उद्योगहरु विभिन्न बहानामा बन्द, हड्तालको शिकार भएर अस्तित्वविहीन भएका छन् । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हेटौंडा कपडा, जनकपुर चुरोट, बीरगञ्ज चिनी, बुटवल धागो, भृकुटी कागज, गोरखकाली टायर, हिमाल सिमेन्ट, गोदावरी मार्बललगायत दर्जनौं उद्योगहरु अहिले खण्डहर वा अस्तित्वविहीन बनेका छन् । सरकारी स्वामित्वका मात्र नभई निजी क्षेत्रको लगानी रहेका कयौं उद्योगहरु पनि बन्द भएका छन् ।

सरकारले उद्योगी, व्यवसायीको गुनासो नसुनेको र उद्योग सञ्चालनको उचित वातावरण नभएका कारण उद्योग, व्यवसाय फस्टाउन नसकेको हो । बागमती प्रदेशका उद्योगी, व्यवसायीहरुले देशमा उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । बागमती प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको आयोजना तथा बागमती प्रदेश उद्योग वाणिज्य महासंघको समन्वयमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायीमैत्री कार्यक्रम ल्याउन सरकारसँग माग गरिएको छ । संघीय सरकारले सम्बोधन गर्न नसकेको उद्योगी, व्यवसायीका सवाललाई प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने व्यवसायीले बताएका छन् । औद्योगिक क्षेत्रको विकास र व्यवस्थापनमा प्रदेश सरकारले भूमिका खेल्नुपर्ने र उद्योगलाई आवश्यक कच्चा पदार्थको आपूर्ति तथा उत्पादित वस्तुको सहज बजारीकरणमा सरकारले सघाउनुपर्ने व्यवसायीले माग गरेका छन् ।

राज्यले उद्योग सञ्चालन र लगानीको वातावरण निर्माण गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । उद्योग स्थापनाको लागि सहजरुपमा जग्गा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्ने व्यवसायीको माग छ । उद्योग/व्यवसाय दर्ता, नवीकरण तथा कर प्रणालीमा रहेका प्रशासनिक झन्झटलाई सरकारले सहजीकरण गर्नुपर्ने र करका दरलाई समयानुकूल बनाउनुपर्ने उद्योगी, व्यवसायीको भनाइ छ । आर्थिक मन्दीको मारबाट व्यवसायीलाई जोगाउन सरकारले राहत प्याकेज ल्याउनुपर्ने, नयाँ उद्योगीलाई आकर्षण गर्न र युवालाई उत्पादनमा जोड्न तालिम तथा लगानीको व्यवस्था गर्नुपर्ने सरकारसँग व्यवसायीले माग गरेका हुन् । नेपाललाई पर्यटन र आईटीको हव बनाउन सरकारले नया प्रकृतिका कार्यक्रम ल्याएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् । बागमती प्रदेश सरकारले आगामी १० वर्षको अवधिलाई लगानी दशकका रूपमा अगाडि बढाउने तयारी गरेको भए पनि उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।

सरकारले उद्योग, व्यवसायको विकासका लागि देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र, औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्रजस्ता संरचना बनाउने घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । देशका उद्योग, व्यवसाय एकपछि अर्को गर्दै धराशायी बनिरहँदा सरकारले उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन नसक्दा व्यवसायी निराश बनेका हुन् । उद्योग, व्यवसायमा समस्या बढ्दै जाँदा र आफूले सोचजस्तो नहुँदा उद्योगी, व्यवसायीले सरकारलाई गुनासो गर्नु स्वभाविक हो । विगतमा मजदुर आन्दोलनका कारण औद्योगिक वातावरण निर्माणमा समस्या देखिने गरेको भए पनि अहिले मजदुरको समस्या निकै कम भएको छ । देशकै मध्य भागमा सबैभन्दा ठूलो औद्योगिक क्षेत्र रहेका कारण हेटौंडामा अन्यत्रभन्दा सहज औद्योगिक वातावरण छ । सबै पक्षहरु अनुकूल रहेका कारणा यहाँ उद्योग स्थापना गर्न चाहने उद्योगी, व्यवसायीलाई प्रदेश सरकारले आवश्यक सहजीकरण गर्नुपर्छ । उद्योगी, व्यवसायीका उचित गुनासालाई सरकारले सम्बोधन गर्दै उद्योगमैत्री वातावरण बनाउनु आवश्यक छ ।