हेटौँडाः हेटौँडा अस्पतालको डायलासिस विभागमा जनशक्ति अभाव रहेको छ । बिरामीको संख्याअनुसार जनशक्ति अपुग भएको विभागकी ईन्चार्ज सीमा कँडेलले बताउनुभयो । विभागमा एक जना डाक्टर, ९ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगीले बिरामीलाई सेवा दिइरहनु भएको छ ।

‘विभागमा बिरामीको संख्या बढिरहेको छ’, इन्चार्ज कँडेलले भन्नुभयो, ‘बिरामीको चापअनुसार थप एक जना डाक्टरको आवश्यकता परिरहेको छ ।’ ६९ जना बिरामीले डायलासिस सेवा लिइरहेका छन् । जसमा ४९ जना पुरुष र २० जना महिला रहेका छन् । कँडेलका अनुसार डायलासिस सेवा लिन ५५ जना बिरामी प्रतीक्षा गरिरहेका छन् ।

हेटौँडा अस्पतालबाट डायलासिस सेवा प्राप्त गर्न मकवानपुर जिल्ला बाहिरका बिरामी पनि आउने गरेका छन् । अहिले विभागबाट बाराका ४ जना र पर्सा, सर्लाही र सिन्धुलीका एक–एक जनाले सेवा लिइरहेका छन् भने सेवा लिनेमा मकवानपुरका ६२ जना छन् । विभागले अहिले बिरामीलाई रिफर नगरेको उहाँको भनाइ छ । विभागमा भएको १९ वटा मेसिनमध्ये १४ वटा मेसिन सञ्चालनमा छ भने ४ वटा बिग्रेको र एउटा स्थापना भइरहेको छ ।

डायलासिस गरिरहेका बिरामीको अवस्था सामान्य रहेको कँडेलेले बताउनुभयो । रक्त सञ्चार केन्द्रले नियमितरुपमा बिरामीहरुलाई निःशुल्क रगत प्रदान गरिरहेको छ । संघसंस्थाले गर्ने सहयोग पहिलेको तुलनामा अहिले कम रहेको कँडेलको भनाइ छ । मिर्गौलाका बिरामीहरुले हप्तामा दुई पटक डायलासिस सेवा लिने गरेका छन् । आइतबार डायलाइसिस गरेका बिरामीहरुले बुधबार पनि डायलासिस गर्छन् । यस्तै, सोमबार डायलासिस गरेका बिरामीले बिहीबार र मंगलबार डायलासिस गरेका बिरामीले शुक्रबार डायलासिस गर्ने व्यवस्था मिलाइएको छ । एक जना बिरामीको डायलाइसिस गर्न ४ घण्टा लाग्छ भने एक जना बिरामीलाई हेर्न २ जना स्टाफ नर्सको आवश्यकता पर्दछ ।