हेटौँडाः हेटौँडा–ललितपुर कान्तिलोकपथ आंशिक खुला भएको छ । मर्मतका लागि चैत १ गतेदेखि बैशाख १५ गतेसम्म बन्द गरिएको कान्तिलोकपथमा सुख्खा पहिरोका कारण क्षति पुग्दा करिब एक महिना पूर्णरुपमा बन्द भएको थियो । बैशाख १५ गतेबाट आंशिक रुपमा सडक संचालन गरी यातायात सुचारु भएपनि मर्मत कार्य पूरा नभएकाले जेठ १५ सम्म सम्पन्न गर्ने गरी दुई सिफ्टमा काम गरिएको थियो ।

आगामी जेठ २५ गतेबाट हेटौँडा ललितपुर जोड्ने कान्तिलोकपथ पूर्णरुपमा संचालनमा आउने भएको छ । विस्तारको कामका लागि बन्द गरिएको कान्तिलोकपथ २४ सैं घण्टा सञ्चालनको तयारी भइरहेको बताइएको छ । बैशाख २१ गते खसेको पहिरोका कारण पुनः पूर्णरुपमा बन्द भएको कान्तिलोकपथ सोमबारदेखि आंशिकरुपमा खुला भएको छ ।

एक महिना लगाएर सडक मर्मत गरेसँगै तत्कालका लागि दैनिक १३ घण्टा संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ । जेठ २५ गतेसम्म काम सम्पन्न गरी सडक पूर्णरुपमा संचालनमा ल्याइने तयारी रहेको उहाँले बताउनुभयो ।

डीएसपी भण्डारीका अनुसार यही जेठ २५ गतेबाट सडक पूर्णरुपमा सुचारु हुनेछ । स्तरोन्नतिका लागि गत चैतदेखि बन्द रहेको कान्तिलोकपथ जेठ २५ गतेबाट पूर्णरुपमा संचालनमा आउने भएको हो । ललितपुर बागमती गाउँपालिका–२ रातोभिरस्थित पहाड फोरेर सडक फराकिलो बनाउने काम भइरहेका बेला सुख्खा पहिलो खसेर सडक भासिएको थियो । कान्तिलोकपथको उक्त खण्डमा १.५ किलोमिटर सडक चौडा गर्न सडक माथिका चट्टान काट्ने काम भइरहेको छ । ६७ वर्षदेखि निर्माणाधीन कान्तिलोकपथ हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइको रहेको छ ।