सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुर, चितवन र सिन्धुलीमा एक–एक जना गरी तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

शनिबार राती ११ बजेर ३० मिनेटको समयमा हेटौँडा–४, कर्रामा एक जना पुरुषको मृत्यु भएको छ । कर्रामा डेरा गरी बस्दै आएका सप्तरीको तिलाक्षी गाउँपालिका–५ स्थित तोप्पाका ४८ वर्षीय रामवीर रामको मृत्यु भएको हो । रामलाई एक्कासी सास फेर्न गाह्रो भएको भनी उपचारका लागि राती १२ बजे हेटौँडा अस्पताल लगिएकोमा १२ बजेर ३७ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।

यस्तै शनिबार सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित रातोडाँडामा एक वृद्धको शव फेला परेको छ । बिहान ९ बजेको समयमा सुनकोशी गाउँपालिका–७ का ७८ वर्षीय शंकर सिं गोलेको शव फेला परेको हो । शव फेला परेको भन्ने खबर स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । गोले बिहिबार बिहान घरबाट धुपी लिन जान्छु भनी हिँडेकोमा सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार राती चितवनको रत्ननगर नगरपालिका–१४ स्थित कन्यादेवीचोकमा एकजनाको मृत्यु भएको छ । ४९ वर्षीय काजिमान थापाको मृत्यु भएको हो । थापा बेलुका खाना खाएर सुतेकोमा एक्कासी मुखबाट फिज काटिरहेको अवस्थामा उनलाई आफन्तले उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा राती १२ बजेर ३० मिनेटको समयमा बाटोमा नै मृत्यु भएको हो ।