हेटौँडाः वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल (आहुती) ले वर्तमान व्यवस्था दलाल पुँजीवादको भएको आरोप लगाउनुभएको छ । शनिबार पार्टी कमिटी मकवानपुरले आयोजना गरेको वर्तमान नेपालको अर्थ–राजनीति विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा दलाल पुँजीवादी शक्ति जन्मेको बताउनुभयो । यो शक्तिले देशमा उत्पादन नगर्ने र विदेशी कारोबारमात्र गर्ने उहाँको भनाइ छ । विदेशी पुँजीवादी शक्तिले गर्दा देशमा उत्पादन नभएको र बेरोजगारी बढेको उहाँले बताउनुभयो । विदेशी दलाल पुँजीवादीले गर्दा देशमा उद्योग नचलेको र देशको बजार विदेशीका निम्ति खुला भएको उहाँले बताउनुभयो । यसले गर्दा देशमा आयात बढेको र निर्यात कम भएको उहाँले बताउनुभयो ।
उहाँले यो व्यवस्थालाई समर्थन गर्न नसकिने भन्दै परिवर्तन गर्नुपर्ने बताउनुभयो । यो व्यवस्थामा श्रमजीवी वर्ग रहन नसक्ने उहाँको भनाइ छ । अहिले देशमा चुनाव लड्दा पनि उही दलाल पुँजीवादी शक्तिको आडमा चुनाव लड्ने भन्दै उहाँले निर्वाचित भइसकेपछि पनि केही गर्न नसकिने बताउनुभयो । उहाँले अबको राजनीति उत्पादनकेन्द्रित बनाई समाजलाई आत्मनिर्भर बनाउने खालको हुनुपर्ने बताउनुभयो ।