हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा हेटौँडा उपमहानगरपालिका–१३ स्थित टुटेपानी र सिम्पानीबीचको खोल्सीमा झोलुङ्गे पुल निर्माण गरिदिन बागमती प्रदेश सरकारलाई बजेट माग गर्ने निर्णय गरेको छ । जेठ १५ गते मंगलबार बसेको ४५ औं कार्यपालिका बैठकले १५० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हस्ताक्षर गरेर सार्वजनिक गर्नुभएको निर्णयको ५ नम्बर बुँदामा झोलुङ्गे पुुलसम्बन्धी निर्णय उल्लेख गरिएको छ । मंगलबारको बैठकमा आगामी आर्थिक बर्षका लागि हेटौँडा उपमहानगरपालिकाले पेश गर्ने बार्षिक आय, नीति, बजेट तथा कार्यक्रम तर्जुमाको विषयमा हालसम्म गरिएका तयारी र प्रगतिको विषयमा पनि जानकारी गराइएको उल्लेख छ ।