सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लामा एकै दिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–८ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला मरिन गाउँपालिका–१, टुडिखेलका ४५ वर्षीय सन्त बहादुर जिम्बा रहेको प्रहरीले जानकारी दिएको छ ।

जिम्बा शनिबार महाभारत गाउँपालिका–६ मा बस्ने साथी टंकध्वज वाईबाको घरमा गएर बस्दै आएका थिए । सोमबार बेलुका ७ बजेको समयमा महाभारत गाउँपालिका–८, पात्ले गाउँस्थित आकुरा भिरबाट लडी बेपत्ता भएका थिए । बेपत्ता जिम्बालाई प्रहरी स्थानीय र आफन्तले खोजतलास गर्दै जाँदा बुधबार बेलुका ७ बजेको समयमा भिरबाट २ सय ५० मिटर तल खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्लाका बनेपा नगरपालिका–६ मा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय ईश्वरलाल श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार श्रेष्ठ बनेपा नगरपालिका–५ स्थित एक स्कुल अगाडि सडकपेटीमा अचेत अवस्थामा फेला परेको थिए । श्रेष्ठलाई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपा लगिएकोमा उपचारको क्रममा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७, तल्लो बारामा अचानक बेहोस भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्ला रौतामाई गाउँपालिका–५, नामान्त बस्ने ५५ वर्षीय बलबहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार सितल चौतारी होटेलमा काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६३२७ नम्बरको बसमा सवार मगर खाना खाई शौचालय जाने क्रममा अचानक बेहोस भएका थिए । मगरलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पतालमा लगिएकोम डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।