सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, काभ्रेपलाञ्चोक र चितवन जिल्लामा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाको बिदुर नगरपालिका–९, आगुटारमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रसुवा जिल्ला लहरेपौवा–१ का ३५ वर्षीय बासुदेव नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार साँझ ६ बजेको समयमा सिमपाखा सामुदायिक वनतर्फ जाने गोरेटो बाटोमा मिनिरल वाटरको बोतलको सिरानी लगाएर सुतेको अवस्थामा नेपाली मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–११, बासकोटेमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झिगु खोलाका १३ वर्षीय अविषेक परियार रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ३ बजेको समयमा परियार झिगु खोला कलभर्डमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, भोजाड जंगलमा एक जना पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान ११ बजेको समयमा अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । पुरुष मृत (सडी गलेको) अवस्थामा फेला परेको र सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा अनुसन्धान कार्य भइरहेका प्रहरीले जानकारी दिएको छ ।