हेटौंडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, धादिङ, चितवन र सिन्धुली जिल्लामा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५, मानेगाउँमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय खमसिङ तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार ६० वर्षीय सिंहबहादुर तामाङले धारिलो हतियार (खुकुरी) ले घाँटीमा प्रहार गर्दा खमसिङको घटनास्थलमा नै मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने सिंहबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट लगेको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१०, बाँदरेमोडमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका–१ का ५३ वर्षीय लोकराज गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार घुम्तीस्थित पृथ्वी लोकमार्गमा सडकको नालीमा गिरी मृत अवस्थामा फेला परेका थिए । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाकै निलकण्ठ नगरपालिका–३ मा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माछा मार्ने क्रममा निलकण्ठ नगरपालिका–४, सिम्ले गैह्रीका ६५ वर्षीय झम्कबहादुर आले मगर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बेलुका ५ बजेर ३० मिनेटको समयमा अरुण खोलामा डुबी मगर मृत अवस्थामा फेला परेका थिए ।

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–६, कालीखोला पञ्चदेवी मन्दिरमा एक जना युवा मृत फेला परेका छन् । मृत फेला पर्नेमा पानगढी घर भई हाल ईच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारका १८ वर्षीय रवि गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ८ बजेर ४० मिनेटको समयमा त्रिशुली नदी किनारमा गुरुङ मृत अवस्थामा फेला परेका थिए ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६, खाल्टेमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७, गोल्माटारका ४० वर्षीया भवानी विक रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार सुनकोशी नदीमा गई नुहाएर फर्कने क्रममा विक बिच बाटोमा अचेत अवस्थामा फेला पारी घरमा पुर्याउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।