हस्ताक्षरपत्रमा हस्ताक्षर गर्दै उपप्रमुख मानकुमारी पाख्रिन । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ८ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरेको छ । सोमबार ८ नम्बर वडा अध्यक्ष कुमार सिंह घिसिङको सभाध्यक्षतामा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले हस्ताक्षरपत्रमा हस्ताक्षर गरी निःशुल्क शिक्षा वडा घोषणा गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।

संविधानको भाग ३ को धारा ३१ मा शिक्षाको हकअन्तर्गत् रहेको आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षा घोषणा गर्ने तयारी गाउँपालिकाको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ र अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यविधि २०८० बमोजिम हस्ताक्षरपत्रमा हस्ताक्षर गरी गाउँपालिकाको ८ नम्बर वडालाई निःशुल्क शिक्षा वडा घोषणा गरिएको फुयाँलले जानकारी दिनुभयो ।

२०८५ सालभित्र देशका ७ सय ५३ वटै स्थानीय तह नै निःशुल्क शिक्षा घोषणा गर्ने कार्यविधि रहेको छ । यसै कार्यविधिलाई आधार मानेर जेठ महिनाभित्र मकवानपुरगढी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी गरिएको फुयाँलले जानकारी दिनुभयो । यसअघि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा निःशुल्क शिक्षा घोषणा भइसकेको छ । ५ नम्बर वडाको घोषणाका लागि आवश्यक तयारी नपुगेका कारण केहि समय पछिका लागि सारिएको उहाँले जानकारी दिनुभयो । आगामी जेठ १८ गते ६ नम्बर, १६ गते ७ नम्बर, १७ गते २ नम्बर वडालाई निःशुल्क शिक्षा वडा घोषणा गर्ने तयारी रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा बागमती गाउँपालिका र कैलाश गाउँपालिका निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा भएको छ भने आर्थिक वर्ष २०८०/०८१ मा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका घोषणा गर्ने तयारी रहेको छ ।

कार्यक्रममा स्रोत शिक्षक दासरथी उपाध्याय, गाउँपालिकाको शिक्षा प्राविधिक सहायक भगवती घिमिरेको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, वडाका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवम् प्रतिनिधि, प्रधानाध्यापक एवम् शिक्षक, बाल समूह, किशोरी समूह, टोल विकास संस्था, आमा समूह, स्वास्थ्य स्वयम्सेविकाहरु, वडा जनप्रतिनिधिहरु, सहकारी, वन समूहलगायत संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिएको फुयाँलले जानकारी दिनुभयो ।