हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा बालश्रममा लगाउने ५ व्यवसायीलाई करबाही गरिएको छ । आइतबार मनहरी गाउँपालिका, सिविन बालहेल्पलाइन १०९८, श्रम तथा रोजगार कार्यालयको संयुक्त अनुगमनका क्रममा कारबाही गरिएको श्रम तथा रोजगार कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अनुगमनमा मनहरी ९, ८ र ७ मा ६ वटा व्यवसायलाई आवश्यक कागजात पेश गर्न ७ दिनको समय दिएको छ । ६ वटा व्यवसायीमध्ये ५ वटा व्यवसायीलाई श्रम तथा रोजगार कार्यालयले बालश्रम प्रयोग गरेकोमा कारवाहीसमेत गरेको हो ।

शाह मोटरसाइकल वर्कशपमा १४ वर्षको बालकलाई श्रममा प्रयोग गरेकामा ५ हजार रुपैयाँ जरिवाना गरेको हो । युएनयु अटो वर्कसेन्टरमा १७ वर्षीय बालकलाई श्रममा प्रयोग गरेकाले ३ सय रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सरस्वती फेन्सीलाई १७ वर्षका बालकलाई श्रममा प्रयोग गरेकाले ४ सय रुपैयाँ जरिवाना र बर्तौला खाजा घरमा १४ वर्षको बालकलाई श्रममा प्रयोग गरेकाले ५ हजार रुपैयाँ जरिवाना गरिएको हो । यसैगरी, बर्तौला सप्लायर्स मनहरी–७ मा १३ वर्षको बालकलाई श्रममा प्रयोग गरेकाले ५ हजार रुपैयाँ जरिवाना गरिएको श्रेष्ठले बताउनुभयो ।

२०८१ जेठ ३ गते श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठ, नायब सुब्बा भीमप्रसाद शर्मा, मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीका दिनेश थापा क्षेत्री, बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारी, मनहरी गाउँपालिकाका बालमैत्री सहजकर्ता सुशीला नेपालीलगायतको टोलीले बालश्रमिक अनुगमन गरेको थियो ।