हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी पाँचौ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार क्वाटरफाइनल अन्तर्गतका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझीले जानकारी दिनुभयो ।

आइतबार भएको खेलमा विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–१ गोलले हराउँदै सक्रिय युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सक्रियको जीतमा रुपक विष्टले २ र ज्याकी बलामीले एक गोल गरे । खेलको म्यान अफ द म्याच विष्ट घोषित भए । विनयबाबुका लागि महेश तामाङले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।

यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा भीमफेदी एफसीलाई १–० गोलले हराउँदै ऋषेश्वर–११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ऋषेश्वरको जीतमा सुनिल तामाङले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच तामाङ घोषित भए ।

प्रतियोगिताको सेमिफाइनलका दुई खेलहरु सोमबार हुँदैछ । सोमबारको पहिलो सेमिफाइन खेलमा फाइनल प्रवेशका लागि कुर्दन एकेडेमी चन्द्रागिरी र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सक्रिय युवा क्लब र ऋषेश्वर–११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।