कुनै पनि देशको नीतिको पनि मुल नीतिको रुपमा राजनीतिलाई लिइन्छ । देशको राजनीति सही भएमा देश पनि सही मार्गमा अघि बढ्छ भने राजनीति गलत भएमा देशका अन्य नीतिहरु सहीरुपमा अघि बढ्न सक्दैन । राजनीतिले देशको शासन व्यवस्थामा मात्र नभई सबै पक्षमा प्रभाव पारेको हुन्छ । राजनीतिसँग व्यापार, व्यवसाय, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य आदि आर्थिक, सामाजिक क्षेत्र पनि प्रभावित भइरहेको हुन्छ । देशको पूर्वाधार विकासमा पनि राजनीतिक प्रभाव परेको हुन्छ । राजनीतिक अवस्था सही भएमा व्यवस्था पनि सही हुन्छ । जतिसुकै राम्रो व्यवस्था लागू गरिए पनि राजनीति राम्रो भएन भने त्यसको कुनै अर्थ रहँदैन । नेपालको राजनीति दशकौंदेखि समस्याग्रस्त छ । धेरै प्रकारका शासन व्यवस्था परिवर्तन भइसक्दा पनि समग्र राजनीति सुध्रन नसक्दा त्यसको प्रतिफल देश र जनताले पाउन सकेका छैनन् ।

अहिले देशमा संसारकै सबैभन्दा उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू गरिएको छ । तर, मुलुकको राजनीतिक दल तथा तिनका नेतृत्वको कार्यशैली परिवर्तन हुन सकेको छैन । राजनीतिक अस्थिरताले मुलुक जर्जर बनिरहेको छ । राजनीतिक अवस्थाकै कारण देशमा आफ्नो भविष्य र सम्भावना नदेखेपछि लाखौं शिक्षित युवा विदेश पलायन भइरहेका छन् । मुलुकको राजनीतिक अवस्था सधैं अस्थिर बनिरहेको छ । फरक राजनीतिक सिद्धान्त र विचारधारा भएका राजनीतिक दलका नेताहरु स्वार्थ मिल्दा जस्तोसुकै कुरामा पनि एकमत हुने र स्वार्थ बाझिँदा एक–अर्काको विरोधमात्रै गर्ने परिपाटी रहेको छ । सत्ता र स्वार्थका लागि जोसुकैसँग सहमति र गठबन्धन गर्न तयार हुनेहरु स्वार्थ नमिल्दा आरोप–प्रत्यारोपमा उत्रने गरेका छन् । पछिल्लो समय सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेपाली कांग्रेसबीच यस्तै अवस्था देखिएको छ । यो अवस्था संघीय तहमा मात्र नभई प्रदेशमा पनि चरम अवस्थामा पुगेको छ । राजनीतिक दलहरुको यस्तो प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएर राजनीतिक दल र नेतृत्वप्रति जनताको विश्वास कम हुँदै गएको छ ।

नेपाली कांग्रेसको बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वर्तमान सरकार ज्यानमाराहरु मिलेर बनेको आरोप लगाएका छन् । वर्तमान सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेता ज्यामारा रहेको उनको भनाइ छ । नेकपा माओवादीले सर्वसाधारण मारेको, नेकपा एमालेका अध्यक्ष केपी ओलीले र रास्वपाका सभापति रवि लामिछानेले पनि आफ्नै सहकर्मीलाई मर्न बाध्य बनाएको आरोप बानियाँको छ । कांग्रेसकै कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै बानियाँले वर्तमान सरकार मान्छे मार्नेको एकता भएकाले उनीहरूमा मानवता नभएको बताएका हुन् । वर्तमान सरकारले मिचाहा प्रवृत्ति देखाएको उनको भनाइ छ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी घोटालामा संलग्न रहेको भन्दै संसदीय छानविन समिति बनाउन माग गर्दै संघीय संसद अवरुद्ध पारिरहेको छ ।

नेपाली कांग्रेस प्रतिपक्षी दल भएकै कारण अहिले सत्ता गठनबन्धन दल र तिनका नेताविरुद्ध चर्को स्वरमा बिरोध गरेको हो । यदि कांग्रेसको ठाउँमा अर्को कुनै राजनीतिक दल हुन्थ्यो भने सरकारको विरुद्धमा उसले पनि यस्तै चर्का नाराबाजी र अवरोध गथ्र्यो । आफूले गरेको र आफ्ना संलग्न भएको सबै कुरा ठिक, अर्कोले गरेको सबै बेठिक भन्ने मानसिकता राजनीतिक दल र तिनका नेता तथा समर्थकमा रहँदासम्म राजनीतिमा आरोप–प्रत्यारोप अन्त्य हुन सक्दैन । जोसुकैले गरेको भए पनि राम्रो कामको प्रशंसा र खराब कामको बिरोध गर्ने परिपाटी विकास नहुँदासम्म राजनीति सुध्रन सक्दैन । राजनीतिक दल र नेतृत्वप्रति अन्धभक्ति प्रदर्शन नगरी राम्रोलाई राम्रो र खराबलाई खराब भन्ने राजनीतिक संस्कार विकास गर्नु आवश्यक छ । आफू, आफ्नो दल र आफ्नो दलको नेता सधैं सही अनि विपक्षी जति सबै गलत देख्ने र आफ्नोले गरेको गल्तीलाई ढाकछोप गर्ने संस्कार अन्त्य गरेर राजनीति सुधार नगर्ने हो भने त्यो जुनसुकै दल र नेताका लागि प्रत्युत्पादक बन्नसक्ने तथ्यलाई मनन गर्नु उचित हुनेछ ।