हेटौंडाः बागमती प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा परी चार जनाको मृत्यु भएको छ । नुवाकोटमा दुई, सिन्धुपाल्चोक र सिन्धुलीमा एक–एक गरी चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यायल हेटौँडाले जनाएको छ ।
शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–१० मा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार २ बजेर ३० मिनेटको समयमा तादिखोलामा पौडी खेल्ने क्रममा डुबेर नुवाकोटको ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङको मृत्यु भएको हो । पौडी खेल्न गएका ६ जना मध्ये दुई जना डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलीले खटिएर खोजतलासपछि उनीहरुलाई उद्दार गरी जिल्ला अस्पताल त्रिशुलीमा पठाएको थियो । अस्पताल पठाइएकोमा दिउँसो ४ बजेर ३० मिनेटको समयमा हिमाल र ५ बजेर ५ मिनेटको समयमा रोजनलाई डाक्टरले मृत घोषणा गरेको जनाएको छ ।
यस्तै शनिबार सिन्धुलीको कमलामाई नगरपालिका–११, धमिलेमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय पुष्करदीप थापा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो १ बजेको समयमा घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर थापा घाइते भएका थिए । घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजेर ५५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।
यस्तै शनिबार नै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४, थकनी भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय बुधान तामाङ रहेको प्रहरीले जनाएको छ । छोरीको घरबाट घेवा खाएर फर्कने क्रममा बसेरी खोलाको भीरबाट ३० मिटर तल खसेर वृद्ध तामाङको टाउको, कान र शरीरको विभिन्न भागमा चोट लागेको थियो । तामाङलाई घाइते अवस्थामा देखेपछि स्थानीयले आफन्तलाई खबर गरी उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौं लगिकोमा उपचारको क्रममा राती ९ बजेर १० मिनेटमा डाक्टरले मृत घोषणा गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।