हेटौँडाः हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा शैक्षिक बर्ष २०८१ का लागि विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट विद्यालय कप्तान र उपकप्तान चयन गरिएको छ । सोमबार प्रिन्सीपल मनोज थिङ र नवोदय नवप्रवर्तन केन्द्रका प्रमुख निर्देशक अव्यक्त खनालले मतदान गरेर उद्घाटन गरेको निर्वाचन कार्यक्रम सुरु भएको थियो ।
निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका उपस्थित विद्यार्थी र शिक्षकहरूले मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त शिवम कुशवाहले निर्वाचनबाट कप्तानमा कक्षा ९ ‘सम’ सेक्सनका रोज सिलवाल र उपकप्तानमा कक्षा ९ ‘देवकोटा’ सेक्सनकी पूर्णता गोर्खाली निर्वाचित भएको जानकारी दिनुभएको छ । कप्तान पदमा चार जनाको उम्मेदवारी रहेकोमा रोजले ३४३ मत गरेर विजयी हुँदा तीनजनाको उम्मेदवारी रहेको उपकप्तानमा पूर्णता ३५८ मत ल्याएर विजयी हुनुभएको छ ।
यस बर्षबाट विद्यार्थी नेतृत्वको उपल्लो तहमा उपकप्तान पद थप गरिएको छ । अब केहि दिनमै विद्यालय प्रतिनिधि समूह र सदन नेतृत्व पनि चयन गरिनेछ । निर्वाचन कार्यक्रमको सम्पूर्ण नेतृत्व नवोदय निर्वाचन आयोगले गरेको थियो भने समग्र पर्यवेक्षण नेतृत्व सामाजिक विभागले गरेको थियो । विद्यार्थीलाई लोकतान्त्रिक मूल्य, मान्यता बारेमा व्यवहारिक ज्ञान प्रदान गर्दै समग्र निर्वाचन प्रक्रियाको बारेमा जानकारी दिन र नेतृत्व विकासको अवसर प्रदान गर्न नेपालमा हुने विभिन्न निर्वाचनकै ढाँचामा निर्वाचन गरिएको सामाजिक विभाग प्रमुख रविन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यक्रम सफल पार्न प्रमुख भूमिका खेल्ने विद्यार्थी नेतृत्वमा आभार व्यक्त गर्नुहुँदै आगामी दिनमा थप परिस्कृत निर्वाचन गरिने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्तमा कक्षा १० ‘एभरेष्ट’का शिवम कुशवाह रहनुभएको थियो भने निर्वाचन आयुक्तहरूमा अनुषा उप्रेती, दर्शना सापकोटा, विमर्श श्रेष्ठ र सक्षम कुमार झा रहनुभएको थियो । यस बर्ष पनि निर्वाचन अभियान ¥याली, निर्वाचन बहस, शून्य अवधि, मतदाता शिक्षा, मतदाता नामावली संकलन, मतदान अधिकृत एव पर्यवेक्षण समूह चयन, मुचुल्का संकलनसहित मतगणनाको वास्तविक अभ्यास आदि कार्यहरूको विद्यार्थीहरूकै अग्रसरतामा वास्तविक अभ्यास गरिएको नवोदय निर्वाचन आयोगले जनाएको छ ।