हेटौँडाः मकवानपुरको दुर्गम क्षेत्रस्थित विद्यालयको छानो हावाहुरीले उडाएको छ । शनिबार राती १० बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका–७, डोकोटारस्थित सरस्वती आधारभूत विद्यालयको छानो हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । विद्यालयको १४ वटा जस्तापाता उडाएको प्रहरीले जनाएको छ । छानोसँगै सोलार प्यानल पनि उडाएको बताइएको छ ।
हावाहुरीले विद्यालयमा पुर्याएको क्षतिको विवरण पालिकामा पठाउने तयारी भइरहेको विद्यालयकी प्रधानाध्यापक निर्मला सिन्तानले जानकारी दिनुभएको छ । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ सय ७ जना विद्यार्थी भर्ना भएका छन् । शिक्षक र कक्षाकोठाको अभावमा प्रारम्भिक बालविकास कक्षा र १ कक्षा, २ कक्षा र ३ कक्षा तथा ४ कक्षा र ५ कक्षालाई एकै ठाउँमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सिन्तानले जानकारी दिनुभएको छ । गत वर्षदेखि ४ कक्षा र यसै बर्षदेखि ५ कक्षाको पठनपाठन सञ्चालन गरिएको प्रधानाध्यापक सिन्तानको भनाइ छ ।
३ कक्षासम्मको अध्ययन पूरा गरेपछि ४ कक्षा पढ्न २ घण्टा भन्दा बढी समय लाग्ने टाढाको विद्यालय जानुपर्ने विद्यार्थीको बाध्यतालाई ध्यान दिएर गत बर्षदेखि ४ कक्षा र यसै बर्षदेखि ५ कक्षाको पठनपाठन सञ्चालन गरिएको उहाँको भनाइ छ । सरस्वती आधारभूत विद्यालयको प्रारम्भिक बालविकास कक्षामा १४ जना, १ कक्षामा २४ जना, २ कक्षामा २४ जना, ३ कक्षामा १७ जना, ४ कक्षामा १६ जना र ५ कक्षामा १२ जना विद्यार्थी अध्ययनरत छन् ।
सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापक सिन्तानसहित २ जना राहत कोटाका शिक्षक, एकजना प्रारम्भिक बालविकास कक्षाकी शिक्षक र एकजना कार्यालय सहयोगी मात्रै छन् । ६ वटा कक्षा सञ्चालनमा रहेको विद्यालयमा ३ जना मात्रै शिक्षक हुँदा दुईवटा कक्षालाई एउटै कोठामा गाभेर पठाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सिन्तानले दुखेसो गर्नुभएको छ । गाउँपालिकालाई समस्याबारे जानकारी गराएपछि एकजना शिक्षक थप गरिदिने आश्वासन प्राप्त भएको उहाँको भनाइ छ । २ जना तामाङ विद्यार्थी र १०५ जना चेपाङ विद्यार्थी अध्ययनरत छन् ।