हस्ताक्षर गर्नुहुँदै मन्त्री रमा आले मगर ।

हेटौँडाः बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले पदभार ग्रहण गर्नुभएको छ । आइतबार मन्त्री आलेले पदभार ग्रहण गर्दै प्रदेशमा खेलकुद र पर्यटन क्षेत्रलाई सँगै लिएर जाने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

हेटौँडा उपमहानगरपालिका–६, गौरीटारस्थित प्रदेश खेलकुद परिषद्को भवनमा मन्त्रालय राखिएको छ । मन्त्री आलेले खेलकुदका लागि विकासका काम भइरहेको समयमा पर्यटनलाई जोडेर लैजाँदा विकासको काम दिगो ढङ्गले हुने र अर्थतन्त्र पनि सवल रहने उहाँले बताउनुभयो । आफूलाई मन्त्रालयको जिम्मेवारी दिएकोमा उहाँले धन्यवाद दिनुभयो । मन्त्री आलेले भन्नुभयो, “जनताले अन्य मन्त्रालय मुख्यमन्त्री कार्यालय वरपर रहेको तर यो मन्त्रालय टाढा भयो भनेर सुझाव सल्लाह जिज्ञासा आएको थियो । तर मैले प्रदेश सरकारको लगानीमा निर्माण भएको संरचना हुँदाहुँदै भाडामा नबस्ने भनेर मैले यहाँ बस्ने निर्णय गरेँ । जसले प्रदेश सरकारको व्ययभार पनि कम पर्छ ।” सरकारले लगानी गरेको स्थानमा मन्त्रालय स्थापना गरिएको मन्त्री आलेको दावी छ ।

काममा सबै विज्ञ नहुने बताउँदै आफूले मन्त्रालयको जिम्मेवारीले नयाँ कुरा सिक्ने अवसर प्राप्त भएको मन्त्री आले बताउनुहन्छ । युवा खेलाडीलाई नीतिगत हिसाबले आफूले काममा सल्लाह सुझाव लिएर काम गर्ने आश्वासन दिनुभयो । आफू सबै कुरामा विज्ञ नभएकाले विज्ञहरूको सल्लाह बमोजिम समूहगत हिसाबले काम गर्दै जाने धारणा राख्नुभयो । बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा खेल क्षेत्रमा विकासले धेरै विकास भएको पाएको मन्त्री आलेको भनाई छ । खेलमा अग्रभागमा रहेको अवस्थामा मर्यादालाई कायम राख्न कोसिस गरिरहने उहाँको भनाई छ ।

नेकपा एकीकृत समाजवादीकी आले गत चैत १९ गते मन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि सत्ता परिवर्तन भई प्रदेशमा नयाँ मन्त्रीमण्डल गठन भएको थियो । मन्त्री आले बिनाविभागीय मन्त्री हुनुहुन्थ्यो । गत बुधबार बसेको मन्त्री परिषद् बैठकले मन्त्री आलेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।