सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१२, चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बकैया–१२ का प्रेम लाल ब्लोन र रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक शाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार घाइतेहरुलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा ब्लोनलाई ११ बजेर ४२ मिनेट र शाहलाई ११ बजेर ४७ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । कार चालक बारा जिल्लाको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दिप शाहको अहिले मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर हुँदै गइरहेको उहाँले बताउनुभयो । शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा उक्त सडकखण्ड अन्तर्गत ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।