शिविरमा विद्यार्थीको आँखा परिक्षण गरिँदै ।

हेटौंडाः मकवानपुरको हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा आँखा शिविर हुँदा ४९ जनाको आँखामा समस्या देखिएको छ । बिहीबार भएको शिविरमा जाँच गराएका ४ सय ५५ जनामध्ये ४९ जनाको आँखामा समस्या देखिएको हो । समस्या देखिएकालाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा थप जाँच गरेर निःशुल्क चश्मा वितरण गरिने विद्यालयका सूचना अधिकारी कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा विद्यार्थी एवम् शिक्षकको आँखा जाँच गरिएको हो । ५६ औं स्थापना दिवसको अवसर पारेर विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । बुधबार भएको वार्षिक उत्सवमा विद्यालयले शिक्षक, विद्यार्थी, कर्मचारी र पूर्वशिक्षकलाई सम्मान गरेको थियो भने मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

विद्यालयलले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा शुक्रबार र आइतबार पनि विद्यालयमा आँखा शिविर आयोजना गरेको छ । यस्तै, विद्यालयले मंगलबार रक्तसञ्चार केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।