हेटौंडाः बकैया गाउँपालिका–५, पाओसस्थित गीतावर आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरुका लागि गाउँपालिकाले आवाससहित खानाको व्यवस्था गरिदिने भएको छ । विद्यालयका प्रधानाध्यापक हरिहर खनालका अनुसार २०७४ सालदेखि आवासीय सुविधा प्रदान गर्दै आइरहेको विद्यालयलाई गाउँपालिकाले आवासीय सुविधासहित खानाको व्यवस्था गरिदिने भएको हो ।

बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा विपन्न परिवार, बासस्थानको अभाव र अन्यन्त्र कारणलाई लक्षित गरी आवासीय सुविधासहित खानाको व्यवस्था गरिदिने भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार जेठ र असार महिनाका लागि पालिकाले खाद्यान्नको व्यवस्था गरिदिने भएको छ ।

बकैया गाउँपालिका वडा न. ६ र २ मा प्रावि तहको मात्र विद्यालय भएका कारण विद्यार्थीहरुलाई आवासीय समस्या परेको उहाँले जानकारी दिनुभयो । बकैयाको ज्यामिरे, मोरङधाप, टिकुली, चाँदेसीर र तीन फुङ्केका ४० जना विद्यार्थीहरूलाई विद्यालयले आवासको व्यवस्था गर्दै आएको छ । मावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई पनि विद्यालयले आवासको व्यवस्था गर्दै आएको खनालले जानकारी दिनुभयो ।

विद्यालयलाई शिक्षासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले शैक्षिक सामग्री उपलब्ध गराउने भएको छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा नर्सरीदेखि कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटरको पनि व्यवस्था रहेको छ । विद्यालयमा हाल कक्षाकोठा, घेराबार र शिक्षकको अभाव रहेको छ । विद्यालयमा हाल २ सय ७५ जना विद्यार्थी रहेका छन् । भर्ना अवधि बाँकी रहेकाले विद्यार्थी सङ्ख्या अझै बढ्ने विश्वास रहेको उहाँले बताउनुभयो ।