बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा समितिको निर्वाचन शनिबार हुने भएको छ । प्रदेशसभा अन्तर्गतका प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन हुन लागेको हो ।

बागमती प्रदेशसभाले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । जसअन्तर्गत् प्रदेश समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् । निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताउनुभयो । शुक्रबार नै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । यस्तै, समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरुलाई सपथग्रहण गराउने कार्यतालिका छ ।