हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१, मार्खुस्थित फर्पिङ–कुलेखानी सडकखण्डमा भ्यान गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा उक्त सडकखण्डमा काठमाडौैदेखी मार्खुतर्फ आउँदै गरेको बा ६ च १२४ नम्बरको भ्यान गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइते हुनेमा भ्यान चालक चितवनको भरतपुर–७ का ३७ वर्षीय मन्जित साह, भ्यानमा सवार ईन्द्रसरोवर–१ का १९ वर्षीय धनराज बल, सोही ठाउँका २० वर्षीय सन्तोश रुम्बा र १९ वर्षीय दिल कुमार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भ्यान अनियन्त्रित हुँदा सडकबाट २० फिट तल खसेको भन्ने खबर प्राप्त हुनसाथ अस्थायी प्रहरी पोष्ट मार्खुबाट टोली खटिएको थियो । घाइतेहरुलाई स्थानीय मार्खु स्वास्थ्य चौकीमा उपचारपश्चात थप उपचारको लागि काठमाडौस्थित ट्रमा सेन्टर पठाइएको छ । भ्यानमा चार जना सवार रहेका थिए ।











