अभिमुखीकरण तालिमको उद्घाटन गरिँदै

हेटौंडाः हेटौंडामा तामाङ भाषा र संस्कृतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा सोमबार हेटौंडा–२ स्थित पल्पसा सदनमा तामाङको संस्कारसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम भएको हो ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा नेवा दय दबु बागमती प्रदेश अध्यक्ष बिष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा अधिवक्ता अमृत लामा, भाषाविद् जीवन मोक्तान, राजनीतिज्ञ एवम् राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अधिवक्ता लामाले बागमती प्रदेशमा नेवा–तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्न निकै कठिनाइ सामना गर्नुपरेको बताउनुभएको छ । उहाँले तामाङ समुदायको भाषा र संस्कृतिको बारेमा बुझाउनुभयो । यस्तै, प्रशिक्षक मोक्तानले इतिहासदेखि वर्तमान अवस्थासम्म भाषा संस्कार परम्परागतरुपमा चलिआएको बताउनुभयो । उहाँले वि.स. १९९० सालमा तामाङ पहिचान हुने कानुन बनेको बताउनुुभयो ।

राक्सिराङका उपाध्यक्ष थिङले पत्रकारिता क्षेत्रको हिसाबमा तामाङ पत्रकारहरुले अझ फड्को मार्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव किरणमान बल, मकवानपुर तामाङ कलाकार संघका सचिव बिक्रम लुङ्बा र सदस्य हेमकुमार तितुङ, नेपाल तामाङ घेदुङ मकवानपुरका सल्लाहकार सानु लामा दोङ, राजकुमार गोले र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।