हेटौंडाः हेटौंडा–५, भैरवरोडस्थित ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको सभाध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष यादवप्रसाद शर्माको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष जिधराज ढकाल, जीएस निकेतन बोर्डिङका पूर्वप्रिन्सिपल रामबाबु सापकोटा र संस्थापक अध्यक्ष शर्मालाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशि र सम्मानपत्रसहित सम्मानित गरिएको छ । ज्ञानदीप पत्रकारिता पुरस्कारबाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधव न्यौपानेलाई सम्मान गरिएको छ । विद्यालय र सहकारीको गतिविधिलाई समाचार सम्पे्रषणको माध्यमबाट जनतामाझ पु¥याउन दिएको योगदानको कदर गर्दै सम्पादक न्यौपानेलाई ५ हजार ५ सय रुपैयाँ नगद राशि र सम्मानपत्र प्रदान गरिएको हो ।
यस्तै, कवि आचार्य, प्रकाश कर्माचार्य, पार्वती गुरुङ, पूर्णमाया लिम्बु, बिनोद श्रेष्ठ र सूर्यनारायण श्रेष्ठलाई पनि नगद राशि र सम्मानपत्र प्रदान गरिएको छ । शैक्षिक सत्र २०८० मा कक्षा–८ को नगरस्तरीय परीक्षामा जीएस निकेतन बोर्डिङबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएका १२ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा समीक्षा यादव, कस्तुरी शाह, ग्रिष्मा गुञ्जन पोखरेल,कविराज यादव, मानस्वी लामिछाने, एलेक्स घिमिरे, प्रशन्न गोले लामा, मिसन बञ्जारा, अरमान खत्री, प्रज्ञा दहाल, आकाश कुमार, शताब्दी खरेल रहेका छन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव लीलानाथ ढुंगेलले गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सहकारी विकास बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले सहकारीहरु वित्तीयरुपमा परिचालन भएको बताउनुभएको छ । आर्थिक कारोबारको क्षेत्रमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सहकारीलाई कस्तो तरिकाले संरचना गर्ने भन्ने कुरा सेयर सदस्यहरुमा निर्भर हुने उहाँले बताउनुभयो । सेयर सदस्यहरु सकारात्मक भएमा सहकारीलाई अगाडि बढाउन सकिने उहाँको भनाइ छ । सेयर सदस्यहरुले जम्मा गरेको पैसाको परिचालन गर्नका लागि सहकारीले सहयोग गर्ने उहाँले बताउनुभयो । आफ्नो संस्थालाई सबैले अपनत्व लिनुपर्ने उहाँको धारणा छ । साधारणसभामा संस्थाको गत आर्थिक वर्ष २०७९÷०८० मा ४ करोड ७७ लाख ९४ हजार ४ सय ३५ रुपैयाँको वासलातको वितरण प्रस्तुत गरिएको छ । संस्थाका कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले आर्थिक वर्ष २०७९÷०८० को आयव्यय विवरण सुनाउनुभएको हो । उहाँले खानेपानी व्यवस्थापनका लागि युरोगार्ड र ट्याङ्की थप गरेको बताउनुभयो ।
शैक्षिक वर्ष २०८० मा शिक्षक तथा कर्मचारीहरुको तलब समयमै समायोजन गरेको बताउनुभयो । विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालक समितिको सहकारी अवलोकन भ्रमण कार्यक्रमका लागि ५ लाख ८९ हजार ७४ रुपैयाँ खर्च गरेको बताउनुभयो । शैक्षिक वर्ष २०८० को सुरुवातमा बालबालिकाको चौतर्फी विकासका लागि गत आर्थिक वर्षमा गरेको घोषणाअनुसार ७ लाख ७५ हजार ३ रुपैयाँ खर्च गरेर खेल सामग्रीसहितको बाल उद्यान निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । यस्तै, चालु आर्थिक वर्ष २०८०÷०८१ मा केवा फुङ्को गीतमाथि परिचर्चा तथा एकल कविता वाचन कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । पुरस्तकालय व्यवस्थित गरेर १३ थान सिसी क्यामेरा जडान र प्रोजेक्टर ५ थान खरिद गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र शिक्षकलाई पुरस्कृत गर्ने कामलाई निरन्तरता दिनका लागि एक लाख रुपैयाँ बजेट बिनियोजन गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिका सहकारी विभागका प्रमुख हिमप्रसाद पौडेल, सार्वजनिक कार्यान्वयन इकाइका प्रमुख बद्रीबहादुर पाठक र हेटौंडा उपमहानगरपालिकाका कानुनी सल्लाहकार ईश्वरराज ढकालको विशिष्ट आतिथ्य रहेको थियो ।