हेटौंडाः नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । शनिबार पार्टी मकवानपुरका संयोजक भीम पाख्रिनको सभाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा गोष्ठी भएको हो ।
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोक्तानले सरकारले आवश्यकताअनुसार बजेट निर्माण गरी विनियोजन गर्नुपर्ने बताउनुभयो । बजेट बनाउँदा पार्टी र सरकारबीचको विरोध समाधान कसरी गर्ने भन्ने विषयमा आधारित रहेर बजेट निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले पार्टी र सरकारबीच सहकार्य हुन नसकिरहेको पनि बताउनुभयो । अहिले पार्टी र जनप्रतिनिधिबीच अन्तरविरोध बढेको बताउनुहुँदै उहाँले यसको समाधान खोज्नुपर्ने बताउनुभयो । गोष्ठीमा नीति र नेतृत्वको विषयमा पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा र बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका सल्लाहकार डीपी ढकालले समाजवादउन्मुख बाटोमा कस्तो बजेट र योजना भन्ने विषयमा प्रशिक्षण गराउनुभयो ।
स्थानीय सरकारको काम, कर्तव्य र अधिकारबारे अधिवक्ता गणेश पाण्डे, स्थानीय सरकारको अनुभवबारे दोस्रो कार्यकाल बागमती गाउँपालिकाका अध्यक्षको रुपमा काम गरिरहनु भएका सर्केश घलान र थाहा नगरपालिकाका निवर्तमान मेयर लवशेर विष्टले जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, ज्ञानसागर भोलन, कमान सिंह पाख्रिनलगायत मकवानपुरको विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।