हेटौंडाः मकवानपुरका विभिन्न स्थानमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुँदैछ । विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र (एचआरडीसी) बनेपा, काभ्रेपलाञ्चोक तथा मकवानपुर जिल्लाको संयुक्त आयोजनामा १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर हुन लागेको एचआरडीसी बनेपाका इन्चार्ज तोकबहादुर लामाले जानकारी दिनुभयो ।

शिविरमा विभिन्न किसिमले अपाङ्गता भएका १८ वर्षभन्दा मुनिका बालकहरु र २४ वर्षसम्मका बालिकाहरुलाई निःशुल्क कृत्रिम हात–खुट्टा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । घुम्ती शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टा लुलो र कमजोर भएको, जोर्नीहरू दुख्ने, सुन्निने, बाङ्गिएको वा खुस्किएको, औंलाहरू एक–आपसमा टाँसिएको वा बढी भएको समस्या परीक्षण हुनेछ ।

शिविरमा हड्डीको टिबी रोग लागेका, शरीरमा राखिएको स्टिल, पाता वा रड झिक्नुपर्ने, हिँड्दा घुँडा जोडिने÷ठोक्किने, घुँडा भित्र÷बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक–आपसमा टाँसिएको, हात÷खुट्टा भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको, ढाड बाङ्गो वा कुप्रो भएको, हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, कृत्रिम अङ्ग र सहायक सामग्रीको आवश्यकता भएकाहरू र अन्य हाडजोर्नीसँग सम्बन्धित अपाङ्गता भएकाहरुको उपचार गरिने उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बैशाख ३० र ३१ गते हेटौंडा अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । यस्तै, जेठ १ गते मकवानपुरगढी गाउँपालिकाको सहयोगमा मकवानपुरगढी–२, शिखरकटेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर हुनेछ । जेठ २ गते बकैया गाउँपालिकाको सहयोगमा बकैया–६ स्थित बकैया आधारभूत अस्पतालमा, ३ गते भीमफेदी गाउँपालिकाको सहयोगमा भीमफेदी–२ को कार्यालयमा र ४ गते भीमफेदीस्थित ईपा स्वास्थ्य चौकीमा शिविर हुने लामाले जानकारी दिनुभयो ।

शिविरमा डाक्टर, फिजियोथेरापिष्ट, कृत्रिम अङ्ग बनाउने, स्टाफ नर्स, सीबीआरलगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ ।