१. शिक्षा भन्नु नै जान्नु हो । विषयवस्तुको जानकारी हुनु हो । थाहा भएका र जानेका कुरा प्रयोगमा ल्याउनु हो । ज्ञान र सीपको संयोजन नै शिक्षाको मूल मर्म हो । शिक्षालाई सीपसँग अनि सीपलाई उत्पादनसँग र उत्पादनलाई बजार व्यवस्थापनसँग जोड्ने सन्दर्भ शिक्षामा चर्चित बनेको छ । प्राविधिक शिक्षाले सीपको नेतृत्व गर्दछ । साधारण शिक्षाले ज्ञानको नेतृत्व गर्दछ । प्राविधिक शिक्षा भित्र ज्ञान र साधारण शिक्षा भित्र सीप शुन्य हुने भन्न खोजिएको पटक्कै होईन । प्रसंग, शैक्षिक चारित्रिक नेतृत्वको र आम प्रकृतिसँग जोडिएको छ । यसरी शिक्षामा ज्ञान र सीप, सिक्काका दुई पाटा हुन् । यी दुबै पक्ष हाम्रो चासो बन्नै पर्दछ । एउटाको अनुपस्थितिमा अर्को सवल देखिँदैन ।
साधारण र प्राविधिक शिक्षामा कुन अगाडि भनेर बहस गर्नु भनेको कुखुरा र अण्डामा कुन पहिला भन्नु जस्तै हो । गरेर सिक्ने र सिकेर गर्ने, दुबै प्रचलनमा छन् । मात्रात्मकरुपमा कम र बेसी हुन सक्छ । मानव सभ्यताको आदिकालमा नै ज्ञान र सीपसँगै प्रादुर्भाव भएको इतिहासमा भेटिन्छ । शिक्षामा विशिष्टिकरणले उच्च महत्व राख्दछ । विषयगत दक्षताका शाखाहरुको सीमा हुँदैन । हाम्रा विद्यालयस्तरमा दुई छाताका दुई प्राविधिक शिक्षा छन् । पहिलो सिटिईभिटि बाट संचालित र दोश्रो हालको शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट ।
२. पहिलो, वि.सं. २०४५ सालमा बनेको कानूनबाट सिटिईभिटि स्थापना गरियो । यसले सिटिईभिटिका आंगिक र सम्बन्धन प्राप्त संस्थाहरु मार्फत शिक्षा प्रदान गरिरहेको छ । आंगिक अन्तर्गत सिटिईभिटिकै पूर्ण अनुदानमा संचालित शिक्षालयहरु पर्दछन् र टिइसिएस अन्तर्गतका विद्यालयहरुमा प्रयोगशालाका लागि थोरै अनुदान उपलब्ध हुने गर्दछ । सिटिईभिटिकै वेभ साईटको पछिल्लो तथ्याङ्क अनुसार, आंगिक प्रकृतिका शिक्षालय तथा तालिम केन्द्रहरु ६३ वटा छन् । अर्को, सम्बन्धन प्राप्तमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) भनिन्छ । यो प्रकृतिका स्कूलहरु ५७२ वटा पुगिसकेका छन् । अनि, सिटिईभिटिकै स्विकृतिमा ४२९ वटा नीजि संस्थाहरु संचालित छन् भने सिटिईभिटिका पार्टनरसीप अन्तर्गत ४२ वटा संस्थाहरु संचालनमा भएको जनाइएको छ । यसरी कूल ११०६ वटा प्राविधिक शिक्षालयहरुले ८० भन्दा बढि प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको भनिएको छ । साथै, बहुप्राविधिक शिक्षालयहरु ५ वटा निर्माणाधिन पनि रहेका छन् । सिटिईभिटि अन्तर्गत मूलतः तीन प्रकारका प्राविधिक शिक्षा प्रदान गरिँदै आएको भेटिन्छ ।
क. टिएसएलसीः एसएलसी÷एसईई वा सो सरह पश्चात १५ महिने कोर्स र ३ महिना ओजेटि । यो तालिममा आधारित नन एकाडेमिक । मूल विषयहरु, कृषि, डेरी, विद्युत, पशु, स्वास्थ्य, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, आदि ।
ख. डिप्लोमाः एसएलसी/एसईई वा सो सरह पश्चात ३ वर्षे कोर्स । यो लेभल उत्तीर्ण भनेको कक्षा १२ वा सो सरह समकक्षता प्रदान भएको प्रयोगात्मक र एकाडेमिक कोर्स । मूल विषयहरु (कृषि, पशु, डेरी, स्वास्थ्य, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, विद्युत, आदि ।
ग. सीपमूलक तालिमः छोटो र लामो अवधिका तालिमहरु, कम्तिमा ३९ घण्टादेखि बढिमा १५०० घण्टासम्मका । मूल विषयहरु, कृषि, पशु, डेरी, स्वास्थ्य, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, विद्युत, होटल म्यानेजमेन्ट, श्रृंगार, फर्निचर/काठ तथा बाँसको सामग्री उत्पादन र निर्माण, सिलाई बुनाई, डकर्मी, व्यवसाय संचालन, आदि ।
३. दोश्रोमा, तत्कालिन शिक्षा विभाग र हालको शिक्षा तथा मानवश्रोत विकास केन्द्र अन्तर्गत संचालित विद्यालयस्तरका प्राविधिक शिक्षा भन्ने बुझिन्छ । वि.सं.२०७० सालमा तत्कालिन शिक्षा विभागले सामुदायिक स्कूलहरुमा कक्षा ९ देखि १२ कक्षासम्म प्राविधिक कक्षा संचालनको नीति कार्यान्वयनमा ल्याएको हो । नेपाल सरकारले वि.सं. २०७५जेठ ६ गते शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानवश्रोत विकास केन्द्र निर्णय गरे पश्चात पनि सरकारी स्कूलको प्राविधिक धारलाई निरन्तरता दिईयो । यस अन्तर्गतका विद्यालयहरुमा प्रशिक्षक दरबन्दी, प्रशासनिक तथा प्रयोगशाला लगायतका अनुदान सरकारले उपलब्ध गराउने भएकाले आकर्षण बढेको पाईन्छ ।
एकातिर, सरकारी अनुदान अनि अर्कोतर्फ विद्यार्थीका लागि अवधिको कोणबाट सिटिईभिटिको भन्दा एक वर्ष कममा उक्त कोर्ष पूरा हुने भएकाले पनि धेरै विद्यालयहरु ९–१२ कक्षाको प्राविधिक धार संचालनमा दौडधुप नै गरेको देखियो । सरकारले पनि हरेक पालिकामा कम्तिमा १ प्राविधिक स्कूल भन्ने नारा नै ल्यायो । यो प्रकृतिका कक्षाहरु हाल १५९१ स्कूलहरुमा संचालन भइरहेको उल्लेख गरिएको छ । यस अन्तर्गत पनि सिटिईभिटिको डिप्लोमा झैं मूल विषयहरु–कृषि, पशु, डेरी, ईन्जिनियरिङ, वन, प्रविधि, आईटी, विद्युत, आदि विषयहरु अध्ययन अध्यापन हुँदै आएको छ । अनमी, अहेव, हेअ, स्टाफ नर्स लगायतका स्वास्थ्य विषय भने यो प्रकृतिका सरकारी विद्यालयमा संचालन भएको पाईंदैन ।
४. निश्चय नै, जथाभावी र हचुवामा स्कूल कलेज तथा प्राविधिक शिक्षाको अनुमति स्विकृति तथा सम्बन्धन दिएकै कारणले आज धेरै शिक्षण संस्थाहरु संकटमा परेका छन् । धेरैजसो राजनीतिक प्रेसर र आर्थिक लेनदेन अनि व्यक्तिगत प्रभावले समेत शिक्षामा समस्या आएको तथ्यमा शंका छैन । यस्तै बेथिति र अनावश्यक हस्तक्षेपकै कारणले स्कूल गाभ्ने र स्थगनको नीति आएको हुन सक्छ । अब कलेजहरु मर्ज गर्नैपर्ने स्थिति आइसकेको छ । सँगै प्राविधिक शिक्षण संस्थाहरुको अवस्था पनि नाजुक बन्दै गइरहेको स्पष्ट देख्न सकिन्छ । विद्यार्थी नभएकै कारणले शिक्षालयहरु क्रमशः बन्द भइरहेका समाचार हामी पढिरहेका छौं । यी सबै शैक्षिक संकटको मूल कारण नै हचुवा शिक्षा प्रणाली हो । व्यक्तिगत पदीय स्वार्थ र व्यवसायसँग शिक्षा जोडियो ।
५. विद्यार्थी संख्याको यकिन गरी उनीहरुले पढ्न, सिक्न चाहेको विषयहरु निर्धारण गरिनु पर्दछ । त्यस्ता विषयहरुको आवश्यकता र बजारमा मागको अवस्थाबारे ठोस विश्लेषण गरिनु अनिवार्य छ । विद्यार्थीले हासिल गरेका सीप र ज्ञानको उपयोग गर्ने मूलत पाँच क्षेत्र सहजै देख्न सकिन्छ । स्वरोजगार, वैदेशिक रोजगार, गैरसरकारी, अर्धसरकारी र सरकारी क्षेत्रमा प्रत्येक वर्ष आवश्यक जनशक्ति संख्याको क्षेत्रगत र विषयगत विश्लेषण नै हाम्रो शिक्षाको प्रारम्भिक योजना बनाउनु पर्दछ । कुन भूगोलमा कुन विषय उपयुक्त हुन्छ , सोको पर्याप्त ज्ञान शैक्षिक योजनाकारमा हुनै पर्दछ । सत्ता र पदको चाकडी हैन, यो देशको समृद्धिका लागि र बेरोजगारको अन्त्यका लागि शिक्षा योजना बन्नु बनाउनु र कार्यान्वयन गर्नुपर्दछ । योजना मात्र अभिलेखालयका लागि हैन, कार्यान्वयनका लागि हुनुपर्दछ ।
६. हाम्रो जस्तो विकासोन्मुख देशमा डाक्टरहरु, ईञ्जिनियरहरु, कृषि तथा वनका विज्ञहरु रोजगारीका लागि भौंतारिरहनु दुर्भाग्य मात्र नभई अभिशाप नै जस्तो बुझिन्छ । कुन स्थानमा के–के विषयको जरुरी र ती विषयहरुबाट कस्ता जनशक्ति उत्पादन भै स्थानीय र राष्ट्रिय अपेक्षा पूरा गर्न सकिन्छ भनेर विश्लेषण हुनु जरुरी छ । कृषि, पशु, व्यवसाय, प्रविधि, वन, ईञ्जिनियरिङ, पर्यटन, उद्योग आदि कुन स्थानमा, किन, कसरी, जस्ता कुराहरुको सुक्ष्म र ठोस विश्लेषण पहिलो काम हो । हाम्रो प्राविधिक शिक्षामा संस्थाहरु थपेर भन्दा पनि भएकाको उपयुक्त व्यवस्थापन पहिलो र जरुरी विषय महसुस भएको छ । विद्यमान कुनै विश्वविद्यालयलाई नै प्राविधिक विश्वविद्यालय घोषण गरेर हाल संचालित सबै प्राविधिक शिक्षण संस्थाहरुलाई एकै छातामुनी संचालन र व्यवस्थापन गर्न सकिन्छ जुन वैज्ञानिक देखिन्छ ।
७. अन्तमा, कक्षा १२ सम्म विद्यालय तह मानिएको सन्दर्भमा यो लेभलका प्राविधिक शिक्षालाई एकै छातामुनी संचालनका आवाज व्यापक उठे तापनि सोको सुनुवाई कतै भएको छैन । यो आश्चर्यको विषय बनेको छ । कस्का–कस्ता स्वार्थका कारणले एकै प्रकृतिका उही लेभलका प्राविधिक शिक्षालाई दुई फरक संस्थाबाट चलाएर शिक्षा लिने दिने दुबै पक्षमा अन्यौल बनाउने काम भएको हो सो को कुनै बेला गहु्रँगो मूल्य चुक्ता गर्ने दिन नआउला भन्न सकिन्न । शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाटै संचालन गर्ने हो भने सिटिईभिटिलाई केन्द्रमै समाहित गर्न सकिन्छ । यो त चासो र तत्परताको विषय हो । हैन, विद्यालय तहको प्राविधिक शिक्षा सिटिईभिटिलाई नै जिम्मा दिएर पनि केन्द्र थोरै हलुका महसुस गर्न सक्छ । आवश्यकता अनुसार सिटिईभिटिलाई भने प्रदेश सरकार मातहत राख्ने हो भने थप प्रभावकारी बनाउन सकिन्छ । कुनै पनि एक विकल्पको छनौट गरी हालको एक शरीर दुई टाउके प्राविधिक शिक्षालाई एक शरीर एकै टाउको बनाउनमा जिम्मेवार पक्षहरुको ध्यानाकर्षण गर्दछु ।
(लामिछाने सेवा निवृत्त शिक्षक हुनुहुन्छ ।)