हेटौंडाः शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाले शैक्षिक रुपान्तरणका लागि प्रधानाध्यापकहरुसँग छलफल गरेको छ । बिहीबार हेटौंडामा भएको सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको बैठकमा शैक्षिक रुपान्तरणसम्बन्धी छलफल भएको हो ।
शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदीले अरु ठाउँहरुमा भन्दा हेटौंडा उपमहानगरपालिकाको विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट अंक ल्याउने गरेको बताउनुभएको छ । सबै शिक्षकहरुले आफूमा भएको कमजोरीको मूल्यांकन गरेर त्यसलाई न्यूनीकरण गर्ने कार्यमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।
आफूले मिहिनेत गरे पनि शैक्षिक क्षेत्रमा आकर्षण बनाउन काम गरेका छौं कि छैनौं भन्ने कुरालाई मध्यनजर गर्नुपर्ने उहाँको भनाइ छ । गतवर्षको तुलनामा चालु शैक्षिक सत्रमा नयाँ योजना, नयाँ कार्यक्रमको प्रस्तुतिकरणमा जोड दिनुपर्ने उहाँले औंल्याउनुभयो । श्रोत र साधनको राम्ररी प्रयोग गरेर विद्यालयलाई राम्ररी व्यवस्थापन गर्ने कार्यमा सबै शिक्षकहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामुदायिक विद्यालयहरुमा आयोजना गरेका कार्यक्रमले विद्यार्थीहरुको सिकाइको क्षेत्रमा सकारात्मक प्रभाव परेको छ कि छैन भन्ने कुरालाई मध्यनजर गर्न आवश्यक रहेको उहाँको दावी छ । श्रोत र साधनको ख्याल गरेर विद्यालयको व्यवस्थापनमा सुधार गर्ने कार्यमा लाग्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
विभिन्न पालिकाहरुलाई सूचित गर्दा पनि अनिवार्य र निःशुल्क शिक्षा घोषणा हुन नसकेको उहाँले बताउनुभयो । नीति र कार्यक्रमलाई नजरअन्दाज नगरिकन काम गर्नुपर्ने उहाँले बताउनुभयो । कतिपय विद्यालयहरुले शिक्षा ऐन र नियम ख्याल नगरेको उहाँले बताउनुभयो । सबै शिक्षकहरुले आफूले गरेको कामको नीतिगतरुपमा खोजी गर्नुपर्ने उहाँको भनाइ छ । शिक्षा विकासबाट आएको अनुदानहरुलाई विद्यालयहरुमा प्रदान गरिने उहाँले प्रष्ट पार्नुभयो । बागमती प्रदेशको २ सय ७७ वटा विद्यालयहरुमा शून्य दरबन्दी रहेको उहाँको भनाइ छ ।
कक्षामा पढ्न मिल्ने वातावरण बनाउने काममा विद्यालयका प्रधानाध्यापकहरुले नै जोड दिनुपर्ने उहाँको भनाइ छ । शिक्षकहरुले एकअर्कामा डाइनामिक र भिजनरी लिडरसीप गर्नुपर्ने इकाई प्रमुख गौतमले बताउनुभयो । सबै शिक्षकहरुले एकअर्काबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । सामुदायिक विद्यालयलाई अगाडि बढाउने विषयमा छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्नका लागि लगानी आवश्यक पर्ने बताउनुभएको छ । शिक्षकहरुको विषयगत दरबन्दी मिलान हेटौंडा उपमहानगरपालिकाले गर्न नसकेको उहाँले बताउनुभयो । विद्यालयको प्रधानाध्यापकहरुबाट नै सिकाइको वातावरण मिलाउने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यपापक परमानन्द सरोज कर्णले नवनियुक्त प्रधानाध्यापकहरुलाई तालिम दिन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले नवनियुक्त प्रधानाध्यापकहरुलाई तालिम नदिएकाले असहज वातावरणको सिर्जना हुने गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले महिलाहरुले प्रयोग गर्नका लागि राम्रो प्याडको व्यवस्था नभएको बताएका छन् । राम्रो प्याडको प्रयोग गर्न नपाएका कारण महिलाहरुमा एलर्जीको समस्या बढ्ने गरेकोमा चिन्ता व्यक्त गरेका हुन् । प्रधानाध्यापकहरुले औंल्याउनुभएको समस्या समाधान गर्न महाशाखाले विषगतरुपमा अगाडि बढेर काम गर्ने महाशाखा प्रमुख कोइरालाले बताउनुभएको छ ।
विभिन्न विद्यालयहरुमा गएर विद्यालयको गतिविधि बुझेर सुधार गर्ने कार्यमा लाग्ने उहाँको भनाइ छ । उहाँले विषयगत शिक्षक दरबन्दी मिलानमा दरबन्दी थप गर्ने, शिक्षाको क्षेत्रमा लगानी वृद्धि गर्ने र अतिरिक्त क्रियाकलाप, क्षमता विकास र प्रारम्भीक विकासमा लगानी वृद्धि गर्ने बताउनुभयो । यस्तै वैकल्पिक कक्षा सञ्चालन, दिवा खाजाको व्यवस्थापन र शिक्षक बैंक व्यवस्थापन कार्य गर्ने बताउनुभयो ।