हेटौँडाः प्रथम संस्करणको खुल्ला जिल्लास्तरीय कराँते प्रतियोगितामा बकैया प्रथम भएको छ । शनिबार थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पस परिसरमा भएको प्रतियोगितामा बकैया गाउँपालिका प्रथम भएको हो ।
बकैयाले ९ वटा स्वर्ण, ७ वटा रजत र ७ वटै कास्य गरी २३ वटा पदक प्राप्त गरेको छ । स्वच्छन्दभैरव डोजाङले ६ वटा स्वर्ण, २ रजत र ९ वटा कास्य गरी १७ वटा पदक प्राप्त गर्दै द्वितीय भएको छ भने ३ वटा स्वर्ण, ४ वटा रजत र ६ वटा कास्य गरी १३ वटा पदक प्राप्त गर्दै थाहा तृतीय भएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ६० केजी तौल समूहबाट स्वच्छन्दभैरव डोजाङका इनेश बलामी र महिलातर्फ थाहा डोजाङकी सुस्मिता दोङले ट्रफी प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरपालिका २ वटा स्वर्णमै सीमित भएको छ । प्रतियोगितामा मकवानपुरको १० डोजाङका करिब २ सय ७० जना खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका, लेवट डोजो, बज्रबाराही डोजो, थाहा डोजो र थानाभर्याङको सहभागिता रहेको थियो । प्रतियोगितामा २० देखि २५, २५ देखि ३०, ३५ देखि ४०, ४० देखि ४५, ४५ देखि ५० र खुला तौल समूहका खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाल कराँते महासंघ थाहा नगरपालिकाको व्यवस्थापन तथा थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो ।
टीकाराज स्याङ्तानको सभाध्यक्ष तथा थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, महासंघका महासचिव दीर्घ लामा, गोजिरियो कराँतेका अध्यक्ष विरु लामा, सितोरियो कराँते संघका जिल्ला उपाध्यक्ष रामलाल थोकरको उपस्थिति रहेको थियो । प्रतियोगिता आयोजनाका लागि थाहा नगरपालिकाले २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।