हेटौंडाः बागमती प्रदेश १५ दिनदेखि प्रमुख सचिवविहीन भएको छ । चैत १५ गते प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सरूवा भएसँगै बागमती प्रदेश प्रमुख सचिवविहीन भएको हो ।

चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघका सचिवहरुको बढुवा गरेसँगै ठूलो संख्यामा सचिवको सरुवा गरेको थियो । प्रदेशका सचिवको सरुवा बढुवा संघीय सरकारले गर्दछ । राजनैतिक अस्थिरताका कारण सरकारले सचिव पठाउन भ्याएको छैन ।

सरकारलाई सत्ता जोगाउने चटारो परेको छ । कर्मचारीको व्यवस्थापनमा सरकारले ध्यान दिएको देखिँदैन । तत्कालीन प्रदेश प्रमुख सचिव उपाध्याय सरुवा भएपश्चात् संघीय सरकारको २ पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ । तर बागमती प्रदेशमा प्रमुख सचिवको रुपमा कसलाई पठाउने भन्ने निश्चित भएको छैन ।

प्रदेशमा प्रमुख सचिव नहुँदा कार्यसम्पादनमा समेत केही प्रभाव परेको छ । प्रदेशमा पछिल्लो समय मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । प्रमुख सचिव उपाध्यायको संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको हो । प्रदेशमा प्रमुख सचिवको रुपमा को आउने निश्चित भएको छैन । उपाध्याय बागमती प्रदेशमा करिब ८ महिना बसेर सरुवा हुनुभएको हो ।