हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका सार्वजनिक निकायहरुलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । गत शुक्रबार एक सूचना जारी गर्नुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जिल्लाका सार्वजनिक निकायहरुमा सूचना अधिकारी तोक्न र सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको हो ।
ऐनले तोकेबमोजिम त्रैमासिक र वार्षिक विवरण प्रकाशन नगरेको, सूचना उपलब्ध गराउनु पर्ने दायित्व भएको व्यक्तिले सूचना उपलब्ध नगराएको भन्ने गुनासो आएकाले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ ले सार्वजनिक निकायले सूचनाको आध्यावधिक प्रकाशन गर्नुपर्ने र दफा ६ ले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको भन्दै सूचना उपलब्ध गराउन चापागाईले निर्देशन दिनुभएको हो । ऐनमा तोकिएबमोजिम सूचना प्रवाहलाई सहज बनाउन आफ्नो कार्यालयको त्रैमासिक र वार्षिक विवरणहरु विद्युतीय माध्यमबाट समेत प्रकाशन गर्न, कार्यालयको वेवसाइट वा फेसबुक वा ट्वीटरमार्फत् पनि सार्वजनिक गर्न सकिने व्यवस्था गरेकाले जिल्लास्थित सबै सार्वजनिक निकायहरुले सूचनाको हकसम्बन्धी ऐन र नियमावलीमा भएका व्यवस्था अनिवार्यरुपमा पालना गर्न सरोकारवाला सबैलाई जानकारी गराउनुभएको हो ।
यदि कसैले प्रचलित ऐन नियमले सार्वजनिक गर्न नमिल्ने सूचनाहरु वा दुःख वा हैरानी दिने नियतले माग गरिएका सूचनाहरु, प्रयोजनबिना सार्वजनिक सरोकार नरहेका र प्रक्रिया पूरा नगरी माग भएका निवेदनहरुका सम्बन्धमा पनि ऐनबमोजिम कारबाही गर्न उहाँले निर्देशन दिनुभएको छ । मकवानपुरमा कतिपय स्थानीय तहले कार्यपालिकाका निर्णयहरु सार्वजनिक गर्ने गरेका छैनन् । अनलाइन माध्यम भएता पनि स्थानीय तहले सदुपयोग गरेको देखिँदैन ।