हेटौँडाः हेटौँडा–६, चौघडास्थित चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । सहकारीले वार्षिकोत्सवको अवसरमा नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको थियो । दुई हजार आठ सय सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । २७ करोड रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको सहकारीले २८ करोड रुपैयाँ भन्दा बढी बचत संकलन गरेको सहकारीका अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसअघि आइतबार रामेछाप–काभ्रे मैत्री समाजको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा ६ जनाले रक्तदान गरेका थिए । पछिल्लो समय ए पोजेटिभ समूहको रगतको माग बढी भएकोले मागअनुसार उपलब्ध गराउन कठिन भइरहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ ।
हेटौँडा अस्पताल र हेटौँडमै रहेका अन्य अस्पताल गरी दैनिक १० देखि १५ युनिट रगत खपत भइरहेको उल्लेख गर्नुहुँदै प्रमुख दाहालले भन्नुभयो, “आन्तरिक माग नै बढी भएका कारण अहिले जिल्ला बाहिर रगत पठाउन सकिएको छैन । उपचारका लागि चितवन पुगेकाहरुले हेटौँडाबाटै रगत लैजाने गरेका छन् ।” यसैबीच मंगलबार हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पसमा र बुधबार हेटौँडा–११ स्थित बागमती प्रदेश प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम रहेको छ ।