हेटौँडाः हेटाँैडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आइतबार बसेको छ । कार्यतालिकाअनुसार बैशाख २ गते आइतबार बसेको कार्यपालिका बैठकले चालु आर्थिक वर्षमा व्यय अनुमानका क्षेत्रगत केही शीर्षकमा बजेट अपुग भएको भन्दै चालु आर्थिक वर्षमा खर्च नहुने शीर्षकबाट २५ प्रतिशत बजेट रकम रकमान्तर गरी अपुग शीर्षकमा खर्च गरी आगामी नगरसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार साँझ उपमहानगरपालिकाले कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेको छ ।
हेटौँडा उपमहानगरले हरेक महिनाको २ र १६ गते नियमित बैठक बस्ने कार्यतालिका बनाएको छ । कार्यपालिका बैठकले हेटौँडा–२ स्थित उपमहानगरको कार्यालयसँगैको जग्गामा बागमती प्रदेश सरकारलाई सभाहल निर्माण गर्न दिएको जग्गा र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यालयको भवन निर्माण गर्न दिएको हेटौँडा–११ स्थित जग्गा फिर्ता लिने निर्णय गरेको छ । प्रदेश सरकारले निर्माण गर्ने भनिएको सभाहल निर्माणको कार्य सुरु गरे पनि सम्पन्न हुन सकेको छैन ।
यस्तै नगर प्रहरीका ५ वैकल्पिक उम्मेदवारलाई अवकास दिने, खारेज भएको भूमि आयोगको काम गर्ने गरी करारमा नियुक्त कर्मचारीलाई अवकास दिने निर्णय पनि कार्यपालिकाले गरेको छ ।