एकीकृत भएपछि औपचारिक कारोबारको सुरुवात गर्नुअघि कार्यालयको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि पौडेल ।

हेटौँडाः हेटौँडा–२ स्थित ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौँडा–४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडको एकीकरणपछि आइतबारबाट एकीकृत कारोबार सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हेम प्रसाद पौडेलले एकीकृत भएपछि बनेको ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्घाटन गर्नुभयो । एकीकृत भएपछि कार्यालय हेटौँडा–२ मा सञ्चालन गरिएको छ । एकीकरण पश्चात सहकारी संस्थाको सेयर सदस्य ६ सय ५० पुगेको छ भने शेयर पुँजी ९८ लाख रुपैयाँ पुगेको छ । बचत ३ करोड २० लाख र ऋण ३ करोड ९० लाख पुगेको छ ।

कार्यक्रम सहकारीका अध्यक्ष विवेक पराजुलीको अध्यक्षतामा भएको हो । कार्यक्रममा साविक सजिलो उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो । केही समयअघि मात्रै विशेष साधारणसभा गरेर दुईवटा सहकारीको एकीकृत भएको थियो । एकीकरणपछि ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विवेक पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन भएको थियो ।