हेटौंडाः न्यानो नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडामा दुई दिने नेतृत्व विकास तथा सकारात्मक सोच तालिम सुरु भएको छ । शनिबार हेटौडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले तालिमको उद्घाटन गर्नुभएको हो ।
तालिममा हेटौंडा उपमहानगर पालिकाभित्रका ३० जना युवाहरु सहभागी भएका छन् । आइतबारम्म चल्ने तालिममा प्रशिक्षकको रुपमा विकासदेव योञ्जन रहनुभएको छ । युवाहरु कसरी आत्मनिर्भर बन्ने र सकारात्मक सोचको विकास गरी विभिन्न व्यवसायमा कसरी सफल हुने भन्ने कुरामा केन्द्रित भएर तालिममा छलफल भइरहेको संस्थाकी अध्यक्ष मीनाकुमारी तितुङले जानकारी दिनुभयो। उहाँले संस्थाले सीप विकास, शिक्षा र स्वास्थ्यमा विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।
संस्थाको आयोजना तथा हेटौंडा–१५ को सहयोगमा अहिले वडामा महिलाहरुका लागि ४५ दिने ब्युटिसियन तालिम पनि सुरु भएको उहाँले बताउनुभयो । तालिममा नगरबाट छनोट भएका २५ जना सहभागी रहेको उहाँले बताउनुभयो । उहाँले संस्थाले आउँदो चैत २७, २८ र २९ गते हेटौंडा–१५ भित्रका युवाहरुलाई नेतृत्व विकास तालिम आयोजना गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामा र गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतको आतिथ्य रहेको थियो ।