हेटौँडाः त्रिशक्ति एकादशी संस्कृति समाज मकवानपुर शाखाको शुक्रबार उद्घाटन भएको छ । एकादशी पुजन कार्यक्रम अन्तर्गत महेश सन्यास आश्रमका पीठाधीस श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले शाखाको उद्घाटन गर्नुभएको हो ।
हेटौँडा–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिरमा भएको कार्यक्रममा प्रवचन दिनुहुँदै गिरीजीले नेपालमा अब धर्म निरपेक्ष व्यवस्था धेरै नटिक्ने दावी गर्नुभएको छ । देशमा संघीय व्यवस्था पनि हट्ने र धर्म निरपेक्ष व्यवस्था हट्ने उहाँको भनाई छ । उहाँले देशमा सनातन धर्मको रक्षा गर्न सबै लाग्नुपर्ने बताउनुभयोे । उहाँले घर–घरमा गुरुकुलीय शिक्षा योजना हुनुपर्ने बताउनुभयो ।
घरघरमा गुरुकुलीय शिक्षा अन्तर्गत गुरुकुलमा पढाई हुने र त्यहाँ सत्कार विषयहरु पढाई हुने त्रिशक्ति एकादशी समाज मकवानपुरका अध्यक्ष रविन्द्र सिग्देलले बताउनुभयो । त्यहाँका पण्डितहरुलाई बिहान उठेपछि के गर्ने र बिहान उठेदेखि बेलुकासम्म के कर्म गर्ने भनेर कुरा पढाई हुने उहाँले बताउनुभयो । यो पढाई गुरुकुलमा मात्र सीमित हुने भएपछि यसलाई घरघरमा पु¥याउनुपर्छ भनेर अभियान सुरु गरिएको उहाँको भनाई छ । बेलुका काम सकिएपछि विशेषगरी गृहिणीहरुलाई प्राथमिकता दिएर एक घण्टा जुमबाट पढाई हुने उहाँले बताउनुभयो । त्यसमा धर्मशास्त्र र संस्कारका कुराहरु गरिने छ । त्यही अनुरुप गरेको कुरा समाजलाई बुझाउनुपर्छ भनेर हरेक एकादशीको माध्यमबाट धर्म र संस्कारका कुराहरु परिचर्चा गर्ने उहाँले बताउनुभयो ।
तीन साताअघि मात्र मकवानपुरमा समाजको समिति गठन भएको थियो । त्रिशक्ति एकादशी समाज गठन भएको मकवानपुर तेस्रो जिल्ला हो । यसअघि चितवन र काठमाडौंमा मात्रै त्रिशक्ति एकादशी समाज गठन भएको अध्यक्ष सिग्देलले बताउनुभयो । कार्यालय उद्घाटनपछि हरेक एकादशीमा पुजापाठ, प्रवचत तथा भजनकीर्तन हुने उहाँले बताउनुभयो ।