हेटौडाः नेकपा एमाले मकवानपुरको अधिवेशन आगामी जेठ महिनाको तेस्रो साताभित्र हुने भएको छ । हिजो मंगलबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकले पार्टी जिल्ला अध्यक्ष एका लाल श्रेष्ठको संयोजकत्वमा अधिवेशन आयोजनाका लागि संगठन कमिटी गठन गरेको छ ।
श्रेष्ठको संयोेजकत्वमा १५१ सदस्यीय संगठन कमिटी गठन गरिएको नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिनुभएको छ । एमालेले बैशाख १५ गतेसम्म पार्टी सदस्यता नवीकरण गर्ने, बैशाख मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । पालिकाको अधिवेशन भने जिल्ला अधिवेशनपछि मात्रै गर्ने निर्णय भएको सचिव सिग्देलले जानकारी दिनुभएको छ । मकवानपुरका १० वटा पालिकामध्ये बागमती गाउँपालिका र थाहा नगरपालिकामा भने अधिवेशन भइसकेको छ ।